२६ बुंदे मागसहित नेपाल शिक्षक महासंघ आन्दोलनमा

प्रकाशित मिति:

विभिन्न २६ बुदे माग राख्दै नेपाल शिक्षक महासंघ आन्दोलित भएको छ । केन्द्रीय कार्यक्रम अनुसार तेस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षक महासंघ जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवा स्थित शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीको अगाडी शुक्रबार धर्ना तथा विरोध सभा गरेको छ । धर्ना कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।सरकारले आफुहरुको मागको सम्बन्धमा कुनै सुनुवाइ नगरेकोले बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछानेले बताए । उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा व्यवस्था बमोजिमको आन्तरिक परीक्षाको मिति तोकी अबिलम्ब परीक्षा लिनुपर्ने, संघीय ऐन तथा कानुनमा विद्यालय कर्मचारी बारे गरिने प्रबन्धको निक्रयोल नहुञ्जेल विद्यालय कर्मचारीलाई सेवाबाट अवकास दिन बन्द गर्नुपर्ने, कम्तीमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामुहिक पदोन्नतीको व्यवस्था र शिक्षकको बढुवामा पनि विशिष्ट श्रेणीको व्यवस्था हुनुपर्ने, राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा रुपान्तरण गरी उक्त दरबन्दीमा कार्यरत शिक्षकहरुको स्थायीत्वका लागि प्रक्रिया अगाडी बढाउनुपर्ने, तत्कालिन उच्च मा.वि.मा कार्यरत शिक्षकहरुको दरबन्दी प्रबन्ध गरी स्थायीत्वको प्रक्रिया आरम्भ गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय कानुन बन्दा शिक्षा सरोकारका लागि सबै आयोग काउन्सील समिति तथा कार्यदलहरुमा सम्बन्धित तहको नेपाल शिक्षक महासंघको अनिवार्य व्यवस्था हुनुपर्ने, शिक्षकको सहज र सुलभ उपचारको प्रबन्ध गर्न प्रादेशिक स्तरमा शिक्षक अस्पतालको व्यवस्था हुनुपर्ने लगायतका माग नेपाल शिक्षक महासंघको रहेको छ ।