गुल्मीमा शिक्षक महासंघको धर्ना 

प्रकाशित मिति:

रमेश विश्वकर्मा  गुल्मी, कार्तिक ३० । नेपाल शिक्षक महासंघ गुल्मीले विद्यालय बन्दसहितका एकमहिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै शिक्षकहरुले जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई गुल्मीमा धर्ना बसेको छ । जिल्ला शिक्षा तथा समन्वय इकाईको कार्यालय गुल्मी अगाडी शुक्रबार शिक्षकहरु धर्ना बस्दा सेवा प्रवाहमा समेत असर पुगेको थियो । धर्ना कार्यक्रममा जिल्लाका सबै शिक्षकको सहभागिता रहेको थियो भने सबै संगठनका शिक्षकहरुले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । शिक्षक शैक्षिक सँस्था र सरकारबीच विगतमा गरिएका सम्झौता कार्यान्वयन नगरिएकोले त्यसको कार्यान्वयनका लागि शिक्षकहरुले आन्दोलन सुरु गरेका हुन् ।
२६ बुँदामा फरक–फरक प्रकारका शिक्षकहरुका फरक–फरक मागहरु राखिएको थियो । संविधानको धारा ७४ अनुसार आफूहरुले अधिकार पाउनुपर्ने शिक्षकहरुको माग छ । विज्ञापन गरी स्थगीत गरिएका अस्थायी शिक्षकहरुलाई स्थायी गर्न परिक्षा लिने, शिक्षकहरु प्रदेश तथा केन्द्र सरकार मातहतमा रहनुपर्ने  शिक्षकको स्थायीत्वको लागि सरकारले तत्काल पहल गर्नुपर्ने लगायतका माग अस्थायी शिक्षकका मागहरु रहेको बुद्ध माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षिका निर्मला पन्थीले जानकारी दिइन् ।
त्यस्तै विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहिअनुसारको पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहात शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्नुपर्ने, स्थानीय तहले बनाएका जथाभावि शिक्षा ऐन खारेज गरिनुपर्ने, शिक्षकको तलब भत्ताको ब्यवस्था केन्द्र सरकारबाट हुनुपर्ने पनि माग गरिएको छ । कम्तिमा दश बर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामुहिक पदोन्नतिको ब्यवस्था गर्नुपर्ने, शिक्षकको बढुवामा पनि विशिष्ठ श्रेणीको व्यवस्था गर्नुपर्ने पनि माग गरिएको पाञ्चायन माध्यमिक विद्यालयका शिक्षक ऋषिराम पाण्डेले जानकारी दिए । तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रबन्ध गरी स्थायित्वको पक्रिया आरम्भ गर्नुपर्ने, आवश्यकताअनुसार बिषयगत दरबन्दी सिर्जना गरी राष्ट्रिय स्तरमा दरबन्दी मिलान गर्नुपर्ने, समयसापेक्ष तलबमा समायोजक गर्नुपर्ने पनि शिक्षकहरुका माग रहेका छन् । ‘राज्यको विकासका निम्ति महत्वपूर्ण सहयोग पुर्याउने तथा देशका कर्णधार बालबालिकाको भविष्य उज्ववल बनाउने शिक्षकहरु स्वयम् नै राज्यबाट चपेटामा परेका छौँ । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा धुर माविका शिक्षक लक्ष्मी खनालले भने, ‘हामि हाम्रा अधिकार प्राप्तिको लागि संघर्ष गरिरहेका छौ ।
नेपाल शिक्षक महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले भने, ‘केवल हाम्रा माग पुरा गराउनको लागि हामि धर्नामा बसेका हौँ । तेस्रो चरणको कार्यक्रमसम्म धेरै शसक्त नभएपनि अब भने अझ शसक्त ढङ्गले लागिपर्ने उनले जानकारी दिए । त्यसका साथै आफूहरुका माग समयमै सम्बोधन नभए कक्षाकोठा बाहिरै रहेर भएपनि आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।