महिला जनप्रतिनिधिका लागि नेतृत्व तथा सञ्चार सीप तालीम

प्रकाशित मिति:

तोलाकान्त बगाले- वालिङ, २० माघ । वालिङका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि तीन दिने नेतृत्व तथा सञ्चार सीप तालीम दिईएको छ । वालिङ नगरपालिकाले आफ्ना महिला जनप्रतिनिधिहरुको क्षमता विकास तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्नका लागि तीन दिने तालीम प्रदान गरेको हो । तालिमको समापन गर्नुहुँदैै नगर प्रमुख दिलीपप्रताप खाँंणले प्रत्येक व्यक्तिले आफ्नो क्षमता तथा नेतृत्व विकास गर्न आवश्यक रहेको भन्दै तालीमबाट प्राप्त ज्ञानलाई दैनिक जीवनमा उपयोगमा ल्याउन सुझाव दिनुभयो ।

उहाँले समयानुकूल आँफूलाई बदल्न जरुरी रहेको भन्दै बढ्दो सूचना र प्रविधिको युगमा सञ्चारको महत्व बुझ्न आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले निर्वाचित महिला जनप्रतिनिधिहरु अन्य दिदीबहिनीहरुका लागि प्रेरणा बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, प्रशिक्षक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारी, सहभागीकातर्फबाट वडा नं. २ की वडा सदस्य मैना कोईराला लगायतले तालीम निकै फलदायी रहेको बताउनुभएको थियो । १४ वटै वडाका जनप्रतिनिधि महिलाहरुसहित ३० जना महिलाहरुको सहभागिता रहेको तालीममा प्रशिक्षक भण्डारीले सहजीकरण गर्नुभएको थियो । सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।