पछिल्लो २४ घन्टामा देशका सात जिल्लामा आगलागी, एकको मृत्यु

प्रकाशित मिति:

पछिल्लो २४ घन्टामा देशका सात जिल्लामा आगलागी भएको छ। आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं, सुनसरी, मोरङ, लमजुङ, सिन्धुली, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा आगलागीका घटना भएका हुन्। आगलागीमा परी एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

मोरङको रतुवामाई नगरपालिका–४ आमबारीकी ४९ वर्षीया महिलाको आगोले पोलेर मृत्यु भएको प्राधिकरणले जनाइएको छ। आगोले पोलेर घाइते भएकी उनको उपचारका क्रममा ज्यान गएको हो। मोरङकै उर्लाबारीस्थित चुलोबाट आगो परालको माचमा सल्की दुई वटा गोठमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ। रङ्गेली नगरपालिका–८ चाइनागेटस्थित एक घरको भान्सामा अचानक आगलागी हुँदा अन्नपात, भाँडावर्तन, काठपातसहित लाखौँको क्षति भएको जनाएको छ।सुनसरीको हलैया भन्ने स्थानमा घुर ताप्ने क्रममो साडीमा आगो सल्किँदा एक जना महिला घाइते भएकी छिन्। त्यस्तै, लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा मकलमा आगो राखी ताप्ने क्रममा एक जना महिला घाइते भएकी छिन्। उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।विभिन्न ठाउँमा भएको आगलागीमा थुप्रै धनसम्पत्ति नष्ट भएको छ। आगलागीमा १० लाखभन्दा बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन शर्माले बताए।