बुटवलका तेस्रो लिङ्गी र महिलाहरुलाई सीप सिकाइदै, उद्यमी बनाइदै ।

प्रकाशित मिति:

बुटवल – समृद्ध बुटवलको संकल्प गर्दै उद्यमशीलतासँग सम्वन्धीत बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बुटवल उपमहानगरपालिकाका महिला उद्यमी र तेस्रो लिङ्गीलाइ शीप अनुशारका सामाग्री बितरण गरिएको छ ।बुटवल उपमहानगरपालिका,संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (यूएनडीपी) र बुटवल टेक्निकल इन्ष्टिच्यूट (बीटीआइ)को साझेदारीमा बुटवलका १६ जना तेस्रो लिङ्गी, २५ जना महिला सहित एक सय २९ जनालाई सीपमूलक तालिम प्रदान गरिएको थियो । सीपमुलक तालिम पश्चत सीप अनुशारका सामाग्रीहरु प्रदान गरिएको उपमहानगरले जनाएको छ ।

सीप सिकेर उद्यम गर्न चाहेका महिलाहरुका लागि औजार र उपकरण प्रदान गरिएको हो ।नव उद्यमीहरुलाई उपकरण एव औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलम युक्त जनशक्ति उत्पादन गर्दै सबल आर्थिक केन्द्र समुन्नत बुटवल बनाउने योजना रहेको बताउनु भयो । यसकै आधारमा समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पारिने प्रमुख सुवेदीको भनाई छ । महिला आर्थिक शसक्तिकरण उद्यमशील विकास परियोजना अन्तर्गत बुटवल उपमहानगरपालिकाले साझेदार संस्थाको सहयोगमा उनीहरुलाई इच्छाएको सीप सिकाउनुका साथै सीप अनुसारको उद्यम सञ्चालनका लागि आवश्यक पर्ने उपकरणसमेत निशुल्क प्रदान गरेको प्रमुख सुवेदीको भनाई छ ।

विभिन्न सीप सिकेका महिलाहरुलाई औजार र उपकरण प्रदान गर्दै उद्यममा सक्रिय हुन हौसला बढाउने प्रयास गरिएको उपप्रमुख तथा उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमका संयोजक गुमादेवी आचार्यले बताउनुभयो ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका लुम्विनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले महिला तथा पछाडि परेको समुहलाई उद्यमी बनाइएमा मात्रै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन आउन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो,“दीगो विकासको लक्ष्य प्राप्तीका लागि पनि महिला तथा पछाडि परेको समूह आत्मनिर्भर र आर्थिक रुपमा सवल हुनु पर्दछ ।”रोजगारीमा भन्दा पनि आफै उद्यम गरेर अगाडि बढ्दा प्भावकारी हुने भन्दै अर्यालले बुटवल उपमहानगर पालिकाले गरेको काम तेस्रो लिङ्गी तथा महिलाले गरेको उद्यमकर्म सबैलाई प्रेरणाको स्रोत हुने स्पष्ट पार्नु भयो ।
दीगोविकासको स्थानीयकरण अन्तरगत तेस्रो लिङ्गीलाई मूलधारमा ल्याई उद्यमशील बनाउनका लागि बुटवल उपमहानगरपालिका र बिटिआईले गरिरहेको प्रयासको प्रशंसा गर्दै अर्यालले भन्नुभयो, “सीप सिकेका महिलाहरुले उद्यम शुरु गर्नु दीगोविकासको स्थानीयकरणको एक उत्कृष्ट नमुना हो । ”उपमहानगरपालिकाले मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा,बीटीआईका कार्यकारी निर्देशक प्रद्युम्नलाल श्रेष्ठ लगायतले बोलेका थिए । सो अवसरमा वारिस्ता तालिम, सोलार इलेक्ट्रीक, हेयर कटिंग र व्यटीपालर,फाष्टफुड, ढाका बुनाई, गारमेन्ट कटिंग र फेशन डिजाइनसम्बन्धी विभिन्न अवधिको तालिम लिएका तेस्रो लिङ्गी तथा महिला उद्यमीहरुलाई सामाग्री तथा उपकरण प्रदान गरिएको उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।