तेस्रो मेयर कप नकआउट फुटबल शनिबारबाट

प्रकाशित मिति:

दिपक न्यौपाने , बुटवल । रुपन्देहीको सैनामैनामा तेस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ क्लब सैनामैनाको ब्यवस्थापनमा आगामी माघ २४ गतेदेखि सैनामैना–७ देवापारमा रहेको सरस्वती माविको खेलमैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।
१६ हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रतियोगिता आयोजनाका लागि सैनामैना नगरपालिकाले ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ भने अन्य खर्चका लागि क्लबले ब्यबस्थापन गर्ने छ । प्रतियोगितामा १२ लाख ५० हजार खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ नगरद राशीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए । प्रतियोगितामा अन्तिम ४ मा पुग्ने दुई समुहलाई २० हजार नगद पुरस्कारले सम्मान गरिने उनले बताए । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई माउण्टेन साइकल बाइक प्रदान गरिनेछ । यस्तै उत्कृष्ट स्ट्राइकर, डिफेण्डर, गोल रक्षक, मिड फिल्डर, उत्कृष्ट कोच तथा सर्वाधिक गोलकर्तालाई नगद ५र५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले नगरको खेलकूद विकासका लागि संरचना निर्माण लगायतका कार्यहरुमा काम गरिरहेको बताएका छन् । प्रतियोगिता बारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले आगमी वर्ष हुने चौथो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता राष्ट्रिय स्तरको पूर्वाधारसहितको मैदानमा हुने प्रतिवद्धता व्यक्त गरेका छन् । नगरमा खेलकुदको विकासका लागि खेल मैदानहरु निर्माण भइरहेको बताउँदै आधुनिक प्याराफिट बाहेकका संरचनासहितको खेलकुद मैदान निर्माण भइसक्ने उनले दाबी गरे ।