तिलोत्तमामा ९ वटा सहकारी एकिकृत हुंदै

प्रकाशित मिति:

मणिग्राम, २१ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका ९ वटा सहकारी संस्थाहरुले एकआपसमा एकिकरण गर्ने घोषणा गरेका छन । २ वटा बहुउद्देश्यीय सहकारी संस्था र ७ वटा बचत तथा ऋण सहकारी संस्था एकिकृत भै बचत तथा ऋण सहकारी संस्था बनाउने घोषणा गरिएको हो । नयाँमिलमा आयोजना गरिएको एकिकरण संझौता हस्ताक्षर कार्यक्रममा सहभागि ९ वटा सहकारी संस्थाहरुको सञ्चालक समितिको संयुक्त बैठकले एकिकरण कार्य सम्पन्न गर्न भरत भूसालको संयोजकत्वमा ११ सदस्यीय एकिकरण कार्यदल गठन गरि एकिकरण कार्य सम्पन्न गर्न अख्तियारी प्रदान गरेको छ । आदर्श बहुमुखी, आधारभूत बचत , जन्मभूमि बहुउद्धेश्यीय, नौकट्टी बचत, स्विकृती बचत, दयालु बचत, लोककल्याण बचत, धरती बचत र समावेशी कल्याण बचत तथा ऋण सहकारी संस्था लि. आपसमा एकिकरण गर्ने निर्णयमा पुगेका हुन् । उकीकरणमा समझदारी घोषणाका लागि आयोजित समारोहमा प्रदेश सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ज्ञानहरी पन्थीले प्रदेश भरिमै यो एकिकरण अनुकरणीय र महत्वपूर्ण हुने बताए । एकिकरणले सबल र सुशासन युक्त सहकारी बनाउन सहयोग गर्ने भएकाले यो एकिकरण लाई मन्त्रालयले हदै सम्म सहयोग गर्ने उनले बताए ।
लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सहकारी एकिकरण आजको आवश्यकता हो भन्दै यो एकिकरणले अरु सहकारीलाई पनि उत्प्रेरित गर्ने बताए । रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराईले जिल्लामा सहकारीको उर्वर स्थल तिलोत्तमा नगरमा एकिकरणको नयाँ अभियानले एकताको सन्देश प्रवाह गरेको बताए । कार्यक्रममा कार्यदलका संयोजक भरत भूसालले एकिकरणको अवधारणा, यसको आवश्यकता र औचित्यका बारेमा प्रकाश पार्दै एकिकरण पछि संस्थाको अवस्थाका बारेमा जानकारी गराए । एकिकरण कार्यदलका सदस्य कृष्ण अर्यालले एकिकरणको संझौता र निर्णयबारे जानकारी गराए । कार्यदलले सम्पूर्ण प्रकृया पुरा गरी १ महिना भित्रै एकिकरण कार्यको कानूनी प्रकृया शुरु गर्ने जनाएको छ । एकिकरण कार्यदलमा संयोजक भरत भूसाल, सदस्यहरुमा देवानन्द पाण्डेय, कृष्णप्रसाद अर्याल, डा.मुरारी पराजुली, चक्र पाठक, बिष्णुप्रसाद भण्डारी, बिष्णुप्रसाद पाण्डेय, टिकाराम न्यौपाने, देवप्रसाद गुरुङ, बिष्णुबहादुर बराल, माधवप्रसाद पाण्डेय चयन भएका एकीकरण अभियानका रामचन्द्र पाण्डेले बताए ।

एकिकरण कार्यक्रममा सहभागि संस्थाका अध्यक्षहरु आधारभूत बचतका बिष्णुबहादुर बराल क्षेत्री, आदर्श बहुमुखीका बोधराज पन्त, जन्मभूमि बहुउद्धेश्यीयका विष्णु भण्डारी, दयालुका मानकाजी श्रेष्ठ, धरती बचतका टिकाराम न्यौपाने, लोककल्याण बचतका डा. मुरारी पराजुली, नौकट्टी बचतका चक्र पाठक, स्विकृतीका शिव खनालले एकिकरणको महत्व र एकिकृत संस्थाको भावि कार्यभारका बारेमा आफ्ना धारणा राखेका थिए । आयोजक संस्था समावेशी कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष चुरामणि पाण्डेयले स्वागत र देवानन्द पाण्डेले सञ्चालन गरेका थिए ।