साढे ९ अर्बभन्दा बढीको कारोबार गर्दै नेप्से २५०० माथि पुगेर फर्कियो

प्रकाशित मिति:

काठमाडौं : खरिदबिक्री रकममा आकर्षक माहोल खडा भइरहँदा नेप्से सूचक भने सामान्य दबाबमा परेको छ । ट्रेडरहरु हावी हुँदा नेप्से सूचकले बुधबार केही दबाबको सामना गरेको हो । बजार खुलेको पहिलो सत्रमा नेप्से दोहोरो अंकले बढेर २५ सय विन्दु माथि पुगेको थियो । तर यसरी बढेको बजारमा ट्रेडर हावी भएपछि सूचकले दबाबको सामना गर्नुपरेको हो । सुरुवाती चरणमा नेप्से आकर्षक हिसाबले वृद्धि भएको थियो ।

तथापि, नेप्सेले २५१८ विन्दुसम्मको अलटाइम हाई टेस्ट गरेर फर्किएको हो । यसले फेरि बजार केही दिनपछि नयाँ उचाइतिरै जाने संकेत गरिरहेको देखिन्छ । बिमा समूहहरुमा केही करेक्सन आएको छ । तर बैंक, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहहरुमा भने वृद्धि देखिएको छ ।  बजारलाई खरिदबिक्री रकमले पनि निकै साथ दिएको छ । अहिले सेयर बजारमा बुल रन चलिरहेको छ । बुल रनमा सेयर भाउहरुले नयाँ–नयाँ उचाईहरु बनाउँदै जानु स्वभाविक हो । अझ सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर लगानी गर्न सकेमा निकै लाभ लिन सकिने सम्भावना रहन्छ ।

बजार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरु थपिएका छन् । पुराना लगानीकर्ताहरुमा पनि आत्मबल दह्रो छ । वित्तीय प्रणालीमा प्रचुर लगानी गर्न मिल्ने रकम रहेको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकसहित सम्बन्धित वित्तीय संस्थाहरुलाई समेत धौधौ परेको अवस्था छ । अधिक तरलताकै कारण ब्याजदर घटेको छ । बैंकहरुले सेयर धितो कर्जा सजिलैसँग दिइरुहेका छन् । बजारको चक्रीय नियम अनुसार पनि क्रमशः बजारले नयाँ उचाईहरु बनाउँदै जाने सम्भावना छ । सेयर बजारको गति सधैं एकनासको हुँदैन । यसर्थ, लगानीकर्ताले दिनहुँ हुने उतारचढाव भन्दा पनि अलि लामो अवधिसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सक्दा राम्रो हुन्छ ।

सबल वित्तीय सूचक भएका, राम्रो लाभांश क्षमता रहेका कम्पनीहरु छनोट गर्न सक्नुपर्छ । बजारको समग्र परिस्थितिमा ध्यान दिनुपर्छ । सम्बद्ध कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, रिभर्ज, नेटवर्थ, भविष्यमा व्यवसाय विस्तारको सम्भावना लगायतलाई पनि उत्तिकै ख्याल गर्नुपर्छ ।  नेप्से सूचक ६।८१ अंकले घटेर २४६६।९२ विन्दुमा अडिएको छ । २०२ कम्पनीको ९ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड २० लाख ४० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ कम्पनीको भाउ ९५ भन्दा माथि वृद्धि भएको छ । खरिदबिक्री रकममा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । यसको ६० करोड भन्दा बढीको कारोबार भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र अरुण काबेली हाइड्रोपावर परेका छन् ।