अदालतको अवहेलना गरेको भन्दै प्रचण्डसंग ७ दिनभित्र स्पष्टीकरणको माग

प्रकाशित मिति:

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा। मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । ‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला,’ आदेशमा भनिएको छ ।अधिवक्ता समिर हायुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्यायसम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

यही माघ १५ गते सर्वोच्च अदालतले प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि सोही विषयमा अभिव्यक्ति दिएको उल्लेख गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । अदालतको अवहेलनामा दोसी ठहर भएमा एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।