विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति:

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द विप्लव समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोसिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ। न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश जारी गरेको हो । ‘स्पष्ट आधार र कारण विनाप्रवृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानका क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट निजलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ ।यसअघि माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो।