बुटवलमा सर्भिसलेनको चौढाई बढाउन सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल, २३ माघ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बुटवल–वेलहीया व्यबसायिक माग अन्तरगत बिस्तारको काम हुँदै गरेको बुटवलको चौराहा–चिडियाखोला सर्भिस लेनको चौढाई बढाउन सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको छ ।

बुटवल चौराहादेखि वेलहीयासम्म मुल सडकको दुबैतर्फ १९ फिट कायम गरिएकोमा संघले सडक डिभिजनमा ध्यानाकर्षण गराउँदै चौराहा–चिडियाखोलामा डिजाईनमा केही सुधार गरेर न्यूनतम २७ फूट बनाउन आग्रह गरेको हो । चौराहा–वेलहीयामा जस्तै गरेर बन्दैगरेको चौराहा–चिडियाखोलामा पनि १९ फूट कायम गरियो भने व्यबहारिक रुपमा अपूरो र अधुरो हुने औंल्याउँदै सर्भिस लेनलाई न्यूनतम २७ फूट कायम हुँदा व्यापारको बिबिधिकरण र विशिष्टिकरणमा समेत योगदान पुग्ने संघले विश्वास व्यक्त गरेको छ ।

१९ फुट सर्भिस लेनलाई विस्तार गरी २७ फुट कायम गर्दा जमिनको बहुपयोग हुने र थपहुने ८ फुट मध्ये हरियाली पार्कबाट ३ फुट तथा फुटपाथबाट ५ फुट कटाउदा अन्य मापदण्डमा असर समेत नपर्ने महशुस गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । बुटवल उपमहानगरपालिका, सडक क्षेत्रमा पर्ने वडा कार्यालयहरु तथा नेकपा र नेपाली काँग्रेसलाई समेत बोधार्थ दिईएको ध्यानाकर्षण पत्रमा संघको तर्फबाट गरिएको फिल्ड स्टडी र प्रस्ताव गरिएको मापदण्डको डिटेल समेत प्रदान गरिएको छ ।