कक्षा १२ मा उत्कृष्टलाई न्यू होराइजनद्वारा सम्मान

प्रकाशित मिति:

बुटवल । कक्षा १२ को हालै सार्वजनिक नतिजामा ४ जीपीए हासिल गरी नेपाल प्रथम हुन सफल छात्रा सुम्निमा श्रेष्ठ लगाएत उत्कृष्ट नतिजा ल्याउने वद्यार्थीहरुहरुलाई न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूल बुटवलले सम्मान गरेको छ । देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजनकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् । विद्यालयले शुक्रबार बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सुम्निमा सहितका विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । न्यू होराइजन संस्थाले दुई वर्षअघिबाट बुटवल–११ कालिकानगरस्थित मातृसंस्थामा पहिलो ब्याचको रुपमा कक्षा ११ सञ्चालन गरेको थियो । सोही ब्याचबाटै सुम्निमा श्रेष्ठले ४ जिपिए प्राप्त गरी देशमै उत्कृष्ट बन्न सफल भएकी हुन् । सो अवसरमा बोल्दै सुम्निमाले सानैदेखि मनमा दृढ इच्छा र लगनशीलताले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइन् । विद्यालयको सुविधासम्पन्न शैक्षिक वातावरण, शिक्षकहरुको उत्प्रेरणा , परिवारको साथ र साथीहरुको प्रोत्साहनले उत्कृष्ट नतिजा आएको भन्दै सुम्निमाले दृढ इच्छाशक्ति र निरन्तरको लगनशीलता भए सफलता हासिल हुने बताइन् । कार्यक्रममा उनीसँगै कक्षा १२ को रिजल्टमा उत्कृष्ट नतिजा हासिल गर्ने विज्ञान संकायका सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र ३.८४ जीपीए हासिल गरेकी व्यवस्थापन संकायकी दिब्या उपाध्याय लगायत उत्तिर्ण सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको थियो । त्यसैगरी कक्षा ११ मा ४ जिपिए प्राप्त गर्ने आस्था शर्मा, रुची रेग्मी, रञ्जना भण्डारी ,अपिल चौधरी लगाएतका विद्यार्थीहरुलाई पनि बधाई तथा सम्मान गरिएको कक्षा ११ र १२ का संयोजक प्रकाश खनालले जानकारी गराए ।

विद्यायल व्यवस्थापन समितिका अधयक्ष ज्ञानेन्द्र कसजुको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले न्यू होराइजनले उत्कृष्ट नतिजा संगै विद्यार्थीको सर्वाङगीण विकासका कुनै सम्झौता नगर्ने बताए । कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सुम्निमा श्रेष्ठका अभिभावक अजयमान श्रेष्ठले न्यू होराइजनले यस क्षेत्रका विद्यार्थीलाई जुनसुकै तह र विषय पढ्न अन्यत्र जानु नपर्ने गरी उच्च शिक्षाका थप विषयहरु थप्न सुझाव दिए । कार्यक्रममा विद्यालयका कोषाध्यक्ष तथा क्षितिज इन्टरनेशनल र बुटवल मोडेल कलेजका अध्यक्ष रामेश्वर श्रेष्ठ, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगाएत बोल्दै विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतिजा दिँदै आएको र सोही क्रममा कक्षा १२ को पहिलो ब्याचमै नेपाल प्रथमको सफलता थपिएको बताए । उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी दिए । कार्यक्रम विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत र शिक्षक हरिप्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो ।