सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध कांग्रेसले निरन्तर संघर्ष गर्ने

प्रकाशित मिति:

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध जारी आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउने भएको छ । संविधानको मर्मविपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध कांग्रेसले निरन्तर संघर्ष गर्ने बताएको छ । कांग्रेसले माघ २४ गते शुभेच्छुक संस्थाहरुको प्रदर्शनपश्चात फागुन ३ गते ७७ जिल्लामै जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरेको छ ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गरेको छ । यस्तै, संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरुदेखि नै कुल्चिँदै आएको कांग्रेसको ठम्याइ छ । कांग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा कार्यक्रम गरेको थियो ।