आजबाट कुन पार्टी मूल पार्टी, कुन पार्टी सक्कली, कुन पार्टी नक्कली भन्ने कुराको टुंगो आज लाग्यो : प्रधानमन्त्री 

प्रकाशित मिति:

काठमाडौं– नेकपा ओली समूहका अध्यक्ष तथा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीले काम गर्न नपाउँदा संसद विघटन गर्न पाउने दावी गरेका छन् । शुक्रबार नेकपा ओली समूहको वागमती प्रदेश कमिटीले नारायणहिटीमा आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै वेलायतमा पनि त्यस्तै गरिएको उदाहरण दिए ।

‘सामान्य जनताले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाएको अवस्थामा संसद विघटन गर्न पाउँछ ।’ उनले भने, ‘वेलायतमा लिखित संविधान छैन, प्रधानमन्त्रीले संसद विघटन गर्ने भन्ने लेखेको छैन तर अस्ति भ्रखर संसद विघटन गर्नुभयो ।’ उनले संसद विघटन र संसद विघटनको सिफारिस संविधान सम्मत छ कि छैन भनेर बहस सिर्जना गरिएको भन्दै साधारण जनताले पनि यसलाई विधान सम्मत भनेर बुझेको दावी गरे । उनले केही पक्षले संसद विटघनबाट देश संकटमा परेको भन्दै आएको भन्दै जनताका निम्ति काम गर्दा देश संकटमा नपर्ने तर कुनामा बसेर अरुका निम्ति काम गर्दा मात्र देश संकटमा पर्ने बताए ।

नारायणहिटीका आसपासका तीनओटै नाकाका देखिएको कार्यकर्ताको भीड देखेर हौसियका ओलीले जनताले पार्टीको वैधानिकता देखाइदिएको बताए । उनले भने, ‘आजबाट कुन पार्टी मूल पार्टी, कुन पार्टी सक्कली, कुन पार्टी नक्कली भन्ने कुराको टुंगो आज लाग्यो ।’प्रधानमन्त्री ओलीले हिंसाको राजनीतिलाई सरकारले रोक्ने बताए । नेकपाको अर्को समूहले मासांहारी आन्दोलन गर्ने भनेको सन्दर्भ कोट्याउन्दै ओलीले भने, ‘मांसाहारी आन्दोलन भनेर उहाँले चिकेन चिल्ली खान्छु भन्नुभएको होइन,म भन्न चाहन्छु अब नरभक्षी आन्दोलनका दिन गए, हिंसा कसैले मच्चाउन सक्दैन । नेपालका शान्तिपूर्ण दिन सुरु भएका छन् ।’