ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ कस्तो छ ?

प्रकाशित मिति:

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले शुक्रबार माघ २३ गते देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये ६९ हजार ९२८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गर्न लागिएको हो ।  यस आइपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आइपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल हो ।

रेटिङ – क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ग्रीनलाइफलाई “केयर एनपि बि प्लस आइएस” रेटिङ प्रदान गरेको छ । जसले निष्काशनकर्ता कम्पनी वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँछ । केयर रेटिङले सन् २०२० नोभेम्बर २६ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२१ नोभेम्बर २५ सम्ममात्र बाहल रहनेछ । कति कित्ताका लागि दिने आवेदन ? पछिल्ला दिनहरुमा आइपीओमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । दोस्रो बजारले रेकर्ड बनाइरहेका बेला प्राथमिक बजारमा पनि लगानीकर्ताको संख्याले नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ । यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै उच्च कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । पछिल्ला आइपीओमा परेको आवेदनलाई आधार मान्ने हो भने ग्रीनलाईफको सेयर पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिन्छ । न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ३ लाख २५ हजार १६५ जना लगानीकर्ताले मात्र आइपीओ हात पार्ने देखिन्छ । यसआधारमा ग्रीनलाईफको आइपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ । तर कसैलाई आफू धेरै भाग्यमानी छु भन्ने लाग्छ भने २० कित्ताका लागि आवेदन दिन सकिन्छ । किनभने यसरी बाँडफाँट गरेर बाँकी रहने २ कित्ता सेयर २ जना लगानीकर्तालाई १ कित्ताका दरले थप हुनेछ । तसर्थ २ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाउनेछन् । विगतका आइपीओमा परेको आवेदनलाई हेरेर मात्र यो अनुमान गरिएको हो । तथापि, यसमा कति आवेदकले कति कित्ताका लागि आवेदन दिनेछन् भनेर अहिले नै अनुमान गर्नु उचित हुँदैन ।

आयोजना सम्बन्धी विवरण – ग्रीनलाइफ हाइड्रोपावर २०६६ साल असोज ४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रिनलाइफ इनर्जी प्रा।लि।को रुपमा दर्ता भएको थियो । २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । पब्लिक लिमिटेड कम्पनीमा परिणत भएपछि यसको नाम परिवर्तन भई “ग्रीनलाईफ हाइड्रोपावर लिमिटेड” रहन गएको छ । कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०६८ वैशाख २८ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विस २१०३ वैशाख २७ गतेसम्म बाहल रहनेछ । ग्रीनलाइफले ४० मेगावाट जडित क्षमताको ‘खानीखोला १ जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ । कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरेको हो । यसको कुल लागत ७ अर्ब ६५ करोड ३८ लाख ९० हजार ७८४ रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले आगामी वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन सुरु गर्नेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको छ ।