अमेरिकामा संकलित रकम पहिरो पीडितलाई हस्तान्तरण

प्रकाशित मिति:

सहीद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ तिखण्डेका पहिरो पीडितलाई राहतस्वरुप २० लाख ११ हजार ४६ रुपैयाँ नगद बितरण गरेको छ । यसअघि वर्खाको समयमा गएको बाढी पहिरोले घर भत्किएपछि कष्टकर गुजारा चलाउँदै आएका उनीहरुलाई पुर्नस्थापनाका लागि उक्त रकम सहयोग गरिएको सहीद शिवप्रसादका दाजु अम्बिका भट्टले बताए ।

नेपाली कांग्रेसका केन्दी्रय सदस्य सुरेन्द्रराज पाण्डेले शुक्रबार तिनखण्डेमा आयोजित एक कार्यक्रमबीच ११ घरधुरी बाढीपहिरो पीडितलाई नगद वितरण गरेका हुन् । गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सहयोगमा नेपालस्थित फाउन्डेसनको खातामा उक्त रकम उपलब्ध गराएको हो । दुई सय ५३ जना दाताहरुले फाउण्डेसनको खातामा उपलब्ध गराएको रकम बितरण गरिएको हो ।

मायादेबी भट्टलाई तीनलाख ४१ हजार ४६, लालप्रसाद भट्ट, गोकर्ण भट्ट, जिवनाथ भट्टलाई जनही तीन लाख १५ हजार, लिलाकुमारी पाण्डे, सुरेश भट्टराई, चुडामणी धिताल र निलबहादुर पाण्डेलाई जनही एकलाख २५ हजार रुपैैया बितरण गरिएको थियो । जानकी पाण्डे, सुमित्रा पाण्डे भट्ट, मानबहादुर पाण्डेलाई जनही ७५ हजार रुपैयाँ बितरण गरिएको हेमराज भट्टले बताए । सहीद शिबप्रसाद भट्टको कान्छा छोरा तथा फाउन्डेसनका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडी, जिल्ला समन्वय समितिकी उप प्रमुख जानुका अधिकारी लगायतले सहयोग गरेको प्रति दाताहरुलाई धन्यवाद दिए ।