लखन थापालाई राष्ट्रिय विभूति घोषणा गरियोस्

प्रकाशित मिति:

बुटवल । सरकारले लखन थापा मगरलाई प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान नदिएको हुंदा राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरेका छन् । २०७२ सालमा शुशिल कोइराला नेतृत्वको सरकारले लखन थापालाई प्रथम शहीदको रुपमा मान्यता दिंदै मन्त्रिपरिषदबाट निर्णय गरेपनि व्यवहारमा प्रथम शहीदको सम्मान र स्थान नदिइएको लेखक, पत्रकार र बुद्धिजिवीहरुले बताएका हुन् । सरकारले प्रथम शहीद भनेर निर्णय गरिसकेपछि व्यवहारमै सम्मान गर्न अब राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने उनीहरुको माग छ । प्रथम शहीद क्या. लखन थापामगर अक्षयकोषले लखनको १४४ औं स्मृति दिवस (फागुन २ ) को सन्दर्भमा शनिबार बुटवलमा गरेको अन्तरक्रियात्मक गोष्ठीमा सहभागी वक्ताहरुले लखन थापाले पहिलो शाहदात गरेकै कारण अन्य चार शहीद जहानिया राणा शासनविरुद्ध बलिदानी दिन तयार भएको धारणा राखे । उनीहरुले शहीद दिवस लखन थापाले शाहदात प्राप्त गरेको फागुन २ गतेलाई केन्द्रमा पारेर मनाउनुपर्ने र फागुन २ गते देशभर सार्वजनिक विदा दिनुपर्ने सरकारसंग माग गरे । यसो गर्नसके मात्रै लखन थापालाई प्रथम शहीदको सम्मान हुने उनीहरुले बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुुत गर्दै सन्जोग लाफा मगरले सरकारले प्रथम शहीद निर्णय गरिसकेपछि पनि प्रथम शहीदका बारेमा विवाद निकालिएको उल्लेख गर्दै अब लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने र उनको शहादत स्थललाई पुरातात्विक दृष्टिकोणले पवित्र भूमि घोषणा गर्नुपर्ने माग गरे । लखन थापाले सशष्त्र क्रान्ति गर्दा प्रयोग गरेका सामग्रीको खोजी गरी बलिदानी घटनाको जीवन्त संग्रहालय बनाउन पनि उनले माग गरेका छन् । यस्तै काठमाडौं शहीदगेटमा अन्य चारजना शहीदको शालिकसंगै प्रथम शहीद लखन थापाको पनि शालिक राखिनुपर्ने र काठमाडौं तीनकुनेमा खाली जग्गामा लखनको शालिक सहित आकर्षक पार्क बनाउनुपर्ने, उनको योगदानबारे वृत्तचित्र बनाउनुपर्ने माग पनि उनले गरे । सरकारले एकपटक मात्र लखन थापा स्मृति प्रतिष्ठानलाई ३४ लाख रकम दिएपनि त्यसयता रकम दिन छाडेर उपेक्षा गरेको कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष दलबहादुर बीरकट्टा मगरले सरकारले प्रथम शहीद घोषणा गरेपनि व्यवहारमा उपेक्षा गरेको बताए । नेपाल वहुजातीय, वहुधार्मिक, वहुसांस्कृतिक मुलुक भएपनि वर्तमान राज्यको चरित्र पुरानै एकात्मक र नश्लीय चरित्रको हुंदा मगर समुदायका लखन थापाले प्रथम शहीदले पाउनुपर्ने सम्मान र स्थान नपाएको बताए । २०७२ को संविधान अपूरो र त्रुटिपूर्ण रहेकाले पुनर्लेखन गर्नुपर्ने र धेरै विषय परिमार्जन गर्नुपर्ने र मात्र प्रथम शहीले सम्मान पाउने औंल्याए । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले सरकारले प्रथम शहीद निर्णय गरिसकेपछि पनि प्रथम शहीदका बारेमा विवाद निकालिनु सत्यलाई स्वीकार गर्न नसक्ने नश्लीय चिन्तन भएको औंल्याए । उनले विभिन्न दल र समूहको दवावको भरमा १२ हजार जनालाई शहीद घोषणा गरिएको तर मुलुकमा जहानिया राणा शासनको अन्त्यको प्रमुख सूत्रधार लखनलाई प्रथम शहीदको निर्णय गरेपनि व्यवहारमा सम्मान दिन राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखे ।

लेखक तथा साहित्यकार गिरी श्रीश मगरले लखन थापालाई नागरिक आन्दोलनले समेत प्रथम शहीदको मान्यता दिइसकेकाले अब राष्ट्रिय विभूति घोषणा गराउन सामूहिक आवाज उठाउनुपर्नेमा जोड दिए । निति निर्माण र निर्णय गर्ने तहमा रहेका शासक र प्रशासकमा नश्लीय चिन्तन हावी रहेकाले लखन थापाले प्रथम शहीदको उचित सम्मान पाउन नसकेको पनि उनले औंल्याए । पत्रकार टोपराज शर्माले लखन थापाबारे उच्चस्तरीय अध्ययन कार्यदल बनाएर अध्ययन अनुसन्धान गर्नुपर्ने र प्रथम शहीदबारे उत्पन्न विवादलाई अन्त्य गर्नुपर्ने, विद्यालय तहदेखि उनको जीवनी र योगदानबारे पाठ्यक्रममा राख्नुपर्ने बताए । राजनीतिकर्मी मोजिब अलीले लखन थापा सबै जाति र समुदायका साझा प्रथम शहीद भएको बताए । आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले सरकारले नै निर्णय गरेको प्रथम शहीदको परिभाषालाई हल्का ढंगले नलिन र उचित सम्मान दिन माग गरे । कार्यक्रममा बिदुर कायस्थ लगायतले लखन थापा मगर मगर जातिको मात्र नभई सबै जातिको प्रथम शहीद भएकाले राज्यले उचित सम्मान दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रम प्रथम शहीद क्या. लखन थापामगर अक्षयकोषकी अध्यक्ष गिता सारुको अध्यक्षता र सचिव कमल थापाको सञ्चालनमा भएको थियो । अक्षयकोषले ब्याज रकमबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।