साधारणसभा तत्काल गर्न माग

प्रकाशित मिति:

बुटवल । वातावरण बचाऊ आन्दोलनद्वारा भैरहवामा सञ्चालित रुपन्देही एफएमको साधारण सभा तत्काल गर्न संस्थाका संस्थापक, पुर्व अध्यक्ष र शेयर सदस्यहरुले माग गरेका छन् । संस्थाको आम्दानी खर्चको यथार्थ विवरण दिन बारम्बार आग्रह गर्दा पनि वर्तमान नेतृत्वले आलटाल गरेकाले तत्काल साधारणसभा बोलाउनुपर्ने उनीहरुको माग छ । यसअघि भएको छैठौं साधारणसभाले संस्थाको हिसाब किताब पेश गर्न संस्थापक नारायणप्रसाद सापकोटाको संयोजकत्वमा पुर्व अध्यक्ष कुलानन्द ज्ञवाली,कृष्णप्रसाद शर्मा,भरत पोखरेल र बिजय पाण्डे सदस्य रहेको पांच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिको गत वर्षको असार ८ गते र साउन ३१ गते बसेको वैठकले अध्यक्ष डा. रामप्रसाद बस्याललाई २०६१ सालदेखिको संस्थाको हिसाब किताब समिति समक्ष पेश गर्न निर्देशन गरेपनि नदिएर आलटाल गरिएको पुर्व अध्यक्ष कुलानन्द ज्ञवालीले बताए । ‘हामीले गत वर्षको भदौ पहिलो हप्तासम्म हिसाब किताब पेश गर्न आग्रह ग¥यौं, तर बेवास्ता भयो’–ज्ञवालीले भने–‘पटकपटक हिसाब माग्दा नदिने र आलटाल गर्नाले संस्थामा ठूलो आर्थिक हिनामिना र बदमासी भएको छ भन्ने शेयर सदस्यहरुको भनाई छ, छानवीन हुनुपर्छ भन्ने माग पनि उठेको छ ।’
अरुलाई सुशासन र पारदर्शिता सिकाउने सञ्चार संस्था आफै अपारदर्शी र आर्थिक अनुशासनमा प्रश्न उठ्ने हुन नहुने ज्ञवालीले बताए । तत्काल साधारण सभा बोलाएर शेयर सदस्यले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाई छ ।
संस्थाका संस्थापक नारायणप्रसाद सापकोटाले समुदायको पहलमा सञ्चालित सञ्चार संस्था भएकाले समुदाय र शेयर सदस्यको भावना अनुसार पारदर्शी ढंगले चल्नुपर्नेमा त्यसो हुन नसकेको बताए । संस्थाले तीन तले घर विक्रि गरेर सडकको पहुंच नै नभएको ठाउंमा घर किनेको विषय लगायत थुप्रै आर्थिक पाटोमा प्रश्न उठेकाले साधारण सभा बोलाएर छिनोफानो गर्नु राम्रो हुने बताए । संस्थाका अध्यक्ष डा.बस्यालले कोरोनाका कारण तीन पटक सम्म साधारण सभा गर्न खोज्दा पनि कोरम नपुगेर स्थगित गर्नुपरेको र अब छिट्टै साधारण सभा बोलाइने बताए ।