कोभिड विरुद्धको खोप अब पत्रकारलाई पनि

प्रकाशित मिति:

काठमाडौं – पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको हो । मन्त्रालयले पहिलो चरणमा बचेको खोप कोभिड–१९ विरुद्धको खोप भोलिबाट लगाउन सुरु गर्ने भएको छ ।

दोस्रो चरणमा यो खोप पत्रकार, कुटनीतिक नियोग र यूएन एजेन्सीमा काम गर्नेहरूलाई प्राथमिकतामा राखिने मन्त्रालयको योजना छ ।मन्त्रालयका अनुसार काठमान्डौं सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा खोप लगाइने छ ।जसमा सिभिल अस्पतालमा पत्रकार, पाटन अस्पतालमा युनएन एजेन्सीका कर्मचारी र तिनका परिवारलाई खोप लगाइने छ । त्यस्तै, टिचिङ र गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउने सरकारको योजना छ । पत्रकारले खोप लगाउन सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ ।