सुन्धाराबाट चितुवाको टाउकोसहित तीन जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं, २५ माघ ; काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउकोसहित तीन जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका–६ का २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका–१२ घर का २० वर्षीय सुजन थिङ र १८ वर्षीय किशोर रहेका छन् ।

चितुवाको दाह्रासहितको टाउकाको कारोबार गर्न हिँडिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।