कला सस्कृतिको रक्षा गर्न नौमती बाजा हस्तान्तरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- माघ २७, मसुरीया, देउखुरी दाङ- कला सस्कृतिको रक्षा गर्दै परम्परागत बाजाहरुको नयाँ पुस्तामा पुराउन राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समुह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

मंगलवार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो ।दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभएको छ ।वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको नौमती बाजा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, ईन्जिनियर अशोक बेल्वासे लगायतको सहभागिता रहेको थियो ।

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ ।