मुलुकको वर्तमान राजनीति गलत बाटो तर्फ बढिरहेको छ : खाण

प्रकाशित मिति:

सिद्धार्थनगर, २७ माघ । मुलुकको वर्तमान राजनीति गलत बाटो तर्फ बढिरहेको भन्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले चिन्ता व्यक्त गर्नुभएको छ । उहांले नेपालको शान्ति प्रक्रिया नखल्बलाउन सबैलाई आग्रह गर्दै सबै राजनैतिक दल र जनताको योगदानबाट प्राप्त उपलब्धीको रक्षा गर्नु आजको आवश्यक्ता रहेको पनि बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएको खाणले भन्नुभयो, ‘राजनीति सहि बाटोमा पनि फर्किन नसक्ने र निर्वाचन पनि हुन सकेन भने ठूलो दुर्घटना हुन सक्छ । खाणले शान्ति प्रक्रियामा विश्वास गर्ने, संविधानमा विश्वास गर्ने सबै राजनीतिक शक्तिसंग सहकार्य गरेर मुलुकलाई सहि दिसामा फर्काउन नेपाली कांग्रेसले अगुवाई गर्ने बताउनुभयो । उहांले संविधानले परिकल्पना गरे अनुसार शक्ति पिथकृकरणको सिद्धान्त अनुसार सम्मानित अदालतले संसदको सम्बन्धमा विचाराधीन मुद्धामा सहि फैसला गर्ने बताउनुभयो ।

नेता खाणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान परिस्तृक गर्दै सबै वर्ग र जनमतलाई एकै ठाउँमा ल्याउने अवसर प्राप्त भएको भएता पनि त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाउनुभयो । खाणले संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोतान्त्रिक र सर्वसत्तावाद लाद्न खोजेको आरोप समेत लगाउनुभयो । लुम्बिनी प्रेस क्लबले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँणले अर्को सरकार र प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेसम्म संविधानले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नदिएको प्रस्ट्याउनुभयो ।

सरकारको पहिलो कर्तव्य संविधानको पालना र रक्षा गर्नु भएको बताउँदै खाँणले प्रधानमन्त्रीले सुरुदेखि नै संविधानको प्रतिकूल हुने काम गर्दै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले मानवअधिकार आयोगलाई महान्याधिवक्तालाई रिर्पोटिङ गर्ने व्यवस्था गर्नु, मिडिया विधेयक ल्याउनु, गुठी विधेयक ल्याउनु र राष्ट्रिय सुरक्षा परिषद्मा निरन्तर प्रहार गर्दै आएको र सोहीअनुसार संविधानमाथि प्रहार भएको बताउनुभयो । संविधान विपरित संवैधानिक परिषद अध्याधेश ल्याए पश्चात संवैधानिक आयोगमा नियुक्तहरुको सुनुवाई गर्दा संसदीय समितिले फर्काउँछ भनेर नै प्रधानमन्त्रीले संसद भंग गरेको उहांको भनाई छ ।

पूर्व रक्षामन्त्री खाणले नेपाली सेनाले सडकमा बख्तरबन्द गाडी निकालेको सम्बन्धमा सेनाको नियमित अभ्यास हुन सक्ने बताउनुभयो । उहांले भन्नुभयो, ‘सेनाले नियमित अभ्यास गर्छ । तर सधैं सेनाको चार किल्लाको चौरमा गथ्र्यो तर यस पटक सडकमा गरेछ । ’