जन्मदिनको खर्च जेष्ठ नागरिकलाई

प्रकाशित मिति:

गल्याङ । जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरी असल कार्यमा खर्च गर्ने क्रममा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले आफ्नो जन्मदिनको अवसरमा राम्दीका जेष्ठ नागरिकलाई प्रदान गर्नुभएको छ । अर्यालले जन्मदिनको अवसरमा रामनदी धाम राम्दीका जेष्ठ नागरिकलाई भोजन गराउनुभएको हो । शिब पार्वती जेष्ठ नागरिक आश्रम राम्दीमा रहेका जेष्ठ नागरिकलाई एक दिनको भोजन गराउने क्रममा अर्यालले ६ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो ४५ औं जन्मदिनको अवसरमा जेष्ठ नागरिकहरुलाई सेवा गर्न पाउँदा निकै खुशी लागेको अर्यालले बताउनुभयो ।उहाँले जन्मदिनको अवसरमा पार्टी गर्ने लगायतका फजुल खर्च गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि आफुले सानो सहयोग गरेको बताउनुभयो ।अर्यालले भन्नुभयो –‘जेष्ठ नागरिक सबैको प्रेरणाको श्रोत हुनुहुन्छ । उहाँहरुको सन्तुष्टी नै हाम्रो कर्तब्य हो । त्यसैले सानो सहयोग गरेको मात्रै हो ।’

जेष्ठ नागरिक आश्रमका लागि सबैको सहयोग हुनुपर्ने भन्दै उहाँले रामनदी धाम राम्दी जस्तो पवित्र ठाउँमा आई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा आश्रमका व्यवस्थापक सुनिल श्रेष्ठले जेष्ठ नागरिकलाई एक दिनको भोजन गराए वापत छ हजार रुपैयाँ भन्दा माथि प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँलै दैनिक सरदरमा एक जना यसरी भोजन गराउनेहरु आउने जानकारी पनि दिनुभयो । भोजन गराउन हस्तान्तरण गरिएको दान रकमबाट आश्रमलाई व्यवस्थित बनाउने कार्यमा पनि टेवा पुगेको श्रेष्ठले बताउनुभयो । आश्रममा अहिले १६ जना जेष्ठ नागरिक रहेका छन् ।