राजाले हुर्काएको कम्युनिष्ट सरकारले राजाको पारा देखायो : देउवा

प्रकाशित मिति:

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्वाचन आयोगले ढिलाई गर्नु गलत भएको बताएका छन् । नेपाली कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले संसद विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने भएपनि अहिलेसम्म आयोगले कुनै तयारी नथाल्नु रहस्यमयी भएको आरोप लगाए । आयोगले चुनावको कार्यतालिका ल्याउदैन, शंका गर्ने बेला आएको भन्दै उनले अदालतको निर्णय पर्खिने काम आयोगको नभएको भन्दै  आयोगले चुनावको तयारी गर्नु पर्ने बताए ।  उनले वर्तमान सरकारले जनता मरुन, बांचुन मतलब नभएको बताएका छन् । कांग्रेलाई राजाले निकै दुख दिएको स्मरण गर्दै उनले, कम्युनिष्टलाई राजाले हुर्काएको र अहिले कम्युनिष्ट राजा सरह भएको आरोप गाए । नेकपाको आन्तरिक झगडाप्रति काँग्रेसलाई कुनै रुचि नभएको उनले बताए ।प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट सरकारलाई जनताको कुनै मतलब नभएको आरोप लगाए । उनले कोभिड–१९ को अवस्थामा पनि कम्युनिष्ट सरकार एकआपसमै झगडा गरिरहेको बताए ।

‘पार्टीलाई अलग गराउन पनि सकेका छैनन्, न त झगडा मिलाउन सकेका छन्, कम्युनिष्ट पार्टीका कारण कांग्रेसमाथि झन चुनौती थपिएको छ, ’उनले भने । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिष्टहरुबीचको लडाइ र झगडाले कांग्रेसमा समेत समस्या आएको बताए । उनले जुलुसको भरमा अदालतले निर्णय नगर्ने बताए । ‘अदालतको निर्णय मान्छौं, तर अदालत भन्दा ठूलो अदालत छैन, जनता भन्दा ठूलो अदालत अर्को छैन, चुनाव भए चुनावमा जान्छौं, ’देउवाले भने ।

संसद विघटनसम्बन्धि मुद्दा अदालतमा विचाराधिन रहेकोले अदालतको निर्णय पर्खिनुपर्ने उनको भनाइ छ । कांग्रेस स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकोले अदालतले न्याय दिन्छ भन्ने पार्टीको मान्यता रहेको उनले बताए । ‘ठूलो जुलुसको भरमा अदालतले निर्णय गर्ने होइन, ’देउवाले भने । संसद विघटन भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भए पनि निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको बताए । प्रधानमन्त्री ओलीले निर्वाचन वैशाखमा गराउँछु भने पनि आयोगले अहिलेसम्म निर्वाचनको कार्यतालिका दिन नसकेको उनले बताए ।

‘कम्युनिष्टले जितेपछि रुन पनि पाँइदैन भनेको थिए, साँच्चै नै कम्युनिष्ट सरकारले जनतालाई दुःख दिएको छ, ’देउवाले भने । जनता कम्युनिष्टसंग वाक्क भइसकेको उनले बताए । जनता नै देशको मालिक भएको र यो देशमा जनता भन्दा ठूलो मालिक अरु कोही नभएको उनले बताए । भाषणले जनताले भोट नहाल्ने भएकोले गाउँगाउँमा र जनताको घरदैलोमा पुग्न उनले कांग्रेसका नेता कार्यकर्तालाई आह्वान गरे । आगामी निर्वाचनमा कांग्रेसले जित्ने उनले दावी गरे । कम्युनिष्टको सरकार आएपछि मुलुकमा भ्रष्टाचार बढेको उनले बताए ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आए पछि रुन पनि पाइँदैन भन्नुभए जस्तै अहिले जनताले दुःख पाएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले केपी ओलीले संविधानमाथि निरन्तर प्रहार गरेको बताए । उनले ओलीले संविधानको मूल मर्मविपरीत अगाडी बढेको आरोप लगाए । उनले कोभिड–१९ को महामारीमा सरकारले कुनै राहत प्याकेज नल्याएको बताए । ‘ओलीजीलाई आफ्नो मात्रै सुरक्षाको चिन्ता छ, ’खांणले भने । संघीय सांसद सार्वजनिक लेखा समितिका सभापति तथा कांग्रेस नेता भरत कुमार शाहले संविधान बचाउन कुनै कदम चाल्न कांग्रेस पछि नहट्ने बताए । उनले कांग्रेस सबै समुदायलाई समेटेर अगाडी बढ्ने पार्टी भएको दावी गरे ।

प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले कम्युनिष्ट सरकारका कारण जनताले दुःख पाइरहेको बताए । उनले कम्युनिष्ट सरकारले जनताको मतको अपमान गरेको बताए । सांसद यादवले भने, ‘जनताको मतको अपमान गर्ने कम्युनिष्ट सरकारले आफै जुलुस र आन्दोलन गरिरहेको छ, आफै असंवैधानिक कदम चाल्ने अनि आफै आन्दोलन गर्ने, ’अचम्म छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले नेकपा नेतृत्वको सरकारले जनताको अधिकार कुण्ठित गरेको बताइन् । उनले कांग्रेस निर्वाचनबाट कहिल्यै नभाग्ने दावी गरिन् । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले नेकपाको साइबर सेनालाई परास्त गर्न नेविसंघ र नेपाल तरुण दलले पूर्णता पाउनुपर्ने बताए । उनले जस्तोसुकै मुल्य चुकाउनुपरे पनि कांग्रेसको शिर झुकाउन नदिने बताए । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व, उपसभापति सरिता चौधरीको स्वागत तथा सचिव रामकृष्ण खांणको सञ्चालनमा  सम्पन्न कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरका सभापति दिलिप धिताल लगायतले बोलेका थिए ।  कार्यक्रममा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।