रोहिणी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

प्रकाशित मिति:

भैरहवा । गत आर्थिक बर्षको ५३ करोड १५ लाख ८५ हजार ३ सय ३६ रुपैयाको आय ब्यय विवरण सार्वजनिक गदै रोहिणी गाउँपालिकाको ८ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिकामा रहेका सडकहरुमो मापदण्ड समेत तय गरेको छ । गाउँपालिकाको गल्ली बाटोको लागी न्यूनतम १४ फिट, भित्रि सडकको लागी २० फिट, महत्वपूर्ण सडकहरु, दुई वा सो भन्दा बढी वडा जोडने सडकहरुको चौडाई न्यूनतम २४ देखी ३० फिट तोकिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । यस्तै प्रदेश स्तरिय र संघ स्तरिय सडकहरु प्रदेश र संघ सरकारले कायम गरेको मापदण्ड बमोजिम रहने तथा गल्ली र सडकको चौडाई पछि ५ फिट सेट ब्याक कायम हुने सभाले निर्णय गरेको छ ।

चालु आर्थिक बर्षको माघ मसान्त सम्ममा गाउँपालिकाले चालु खर्च तर्फ ३० दशमलव ८९ प्रतिशत र पूजिंगत तर्फ ३ दशमलव ५६ प्रतिशत खर्च भएको गाउँपालिका अध्यक्ष यादवले बताए । यस्तै गाउँपालिका अन्र्तगत रहेको सामूदायिक तथा सरकारी आधारभूत तह र माध्यमिक तहमा कार्यरत करार तथा पिसिएफ तर्फका शिक्षक र कार्यलय सहयोगीको समस्यालाई पनि सभाले सम्बोधन गरेको छ । यिनिहरुको तलब अपुग भएको भन्ने बारे पटक पटक बिद्यालयबाट माग भई आएकोले अब यस्तो अवश्थामा कारण, औचित्य र पुष्ट्याईको आधारमा गाउँपालिकाले अनुगमन गरि शिक्षा शाखाबाट पेश भएको प्रतिवेदनको आधारमा निकासा दिने नितिगत निर्णय गरेको छ । रोहिणी गाउँपालिकाले सभा मार्फत गत आर्थिक बर्षमा कोरोना ब्यवस्थापनमा भएको आय ब्यय समेत सार्वजनिक गरेको छ । गाउँपालिमा गत आर्थिक बर्षमा १ करोड ३८ लाख ५६ हजार ५ सय ८२ रुपैया प्रकोप ब्यवस्थापन कोषमा आम्दानी भएकोमा १ करो ९ लाख ४४ हजार १७ रुपैया बिभिन्न शिर्षकमा खर्च भएको गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गरेको छ ।

यसको साथै अबको दिनमा गाउँपालिकाको प्राथमिकतामा गाउँपालिकाको आफ्ने भवन निर्माण र वडा कार्यालयको निर्माणलाई प्राथमिकतामा राखी बजेट बाँडफाँड गरिने सभाध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, उपाध्यक्ष शिवकान्ती हरिजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु आविद अली पठान, बिर बहादुर क्षेत्री, तारानाथ यादव, घनश्याम सिंह क्षेत्री, ईन्द्रमान चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले गरेका थिए ।