भागरथीको हत्यामा सलग्नको आरोपमा एक पक्राउ

प्रकाशित मिति:

काठमाडौं, फागुन ५ : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।घटनाको १३ औँ दिनमा पक्राउ परेका ती व्यक्तिलाई आजै सार्वजनिक गरिने तयारी गरिएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धान तथा वयानमा पक्राउ परेका युवकले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो।

वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन्। त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो।