महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरियो

प्रकाशित मिति:

तोलाकान्त बगाले, वालिङ, ५ फागुन । वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिबीच अनुभव आदान प्रदान गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा द एसिया फाउण्डेसनको सहयोग तथा समन्वयमा कार्यक्रम गरिएको हो । चौध वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले महिलाहरुले आफ्नो पहिचान बनाउनका लागि सँधै तत्पर रहनुपर्ने बताउनुभयो ।

उपप्रमुख तिवारीले जिम्मेवारी सहित सक्रिय भूमिकामा रहन सुझाव दिँदै आवश्यक सहयोगका लागि सँधै तयार रहेको बताउनुभयो । कार्यक्रममा द एसिया फाउण्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले महिला सदस्यहरुबीच भएका समस्या, संभावनाहरुको आदानप्रदान एवं असल अभ्यासका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै परियारले एउटा वडामा भएका असल अभ्यासहरु अन्य वडाहरुले अनुशरण गर्दै आगामी दिनमा नीति तथा कार्यक्रमहरु बनाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपप्रमुख तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालन वडा नं. १ की वडा सदस्य सीता विकले गर्नुभएको थियो ।