भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५६ औं वार्षिकउत्सव सम्पन्न

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका ३ गल्याङबजारमा रहेको भानुभक्त माध्यमिक विद्यालयको ५६ औं वार्षिकउत्सव विहीबार सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी विद्यालयको ५६ औं वार्षिकउत्सव तथा अभिभावक दिबश गरिएको हो । समारोहको उद्घाटनका अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विद्यार्थी र बालबालिकाहरुकालागि गल्याङ नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो

उहाँले केन्द्रीय सरकारसँग समन्वय गरेर विद्यार्थी एवम् बालबालिकालाई समेटर विशेष कार्यक्रम ल्याउन लागिएको स्पष्ट पार्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बालबालिकालाई कसरी राम्रो बनाउने भन्ने बारेमा सबैले महत्व दिनुपर्ने हुन्छ । भोलि कस्तो बनाउने भन्ने कुरा आजका विद्यार्थीको भविश्यले निर्धारण गर्छ । त्यसकारण हामी विद्यालय लक्षित बालबालिका केन्द्रीत कार्यक्रम ल्याउन लागेका छौं ।’उहाँले गल्याङमा कृषि र पूर्वाधारका क्षेत्रमा विभिन्न कामहरु भैरहेको भन्दै अब शिक्षा क्षेत्रलाई अझै बढि प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले गल्याङका विभिन्न तीन विद्यालयलाई नमूना बनाउने कार्य भएको भन्दै भानुभक्त आचार्य माविलाई पनि सोही स्तरमा विकास गर्न आफु प्रतिबद्व भएको बताउनुभयो ।

तिन्दोवाटे, पिडिखोला र मालुङ्गाका तीन विद्यालयलाई नमूना बनाई काम अगाडि बढाएको र अन्य विद्यालयका विद्यार्थीलाई समग्रमा विकास गर्ने गरी कार्यक्रम ल्याउन लागिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाको प्रशासनिक भवन बनाउनैपर्ने अवस्था भएकाले आर्थिक रुपमा अहिले केही समस्या परेको भन्दै उहाँले अर्को वर्ष यस विद्यालयका लागि जग्गाको व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गर्ने प्रतिबद्वता जनाउनुभयो ।
सीमित स्रोत र साधन भएपनि गल्याङ नगरपालिका कृषिको हव बनाउने अभियानमा रहेको, नगर अस्पताल व्यवस्थित गर्ने क्रममा रहेको र सम्बृद्व नगरपालिका बनाउन अग्रसर भैरहेको बताउनुभयो ।कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले विद्यालयलाई राम्रो बनाउनका लागि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग रहने बताउनुभयो ।
उहाँले विद्यालयबाट उत्पादित जनशक्ति अहिले धेरै ठाउँमा पुगेको भन्दै गल्याङको केन्द्रमा रहेको यस विद्यालयलाई सबैले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष बस्यालले विद्यालयको गुणस्तर बृद्वि गरी अझै राम्रो बनाउन विद्यार्थी, अभिभावक, सरकार र सबै नागरिकको उत्तिकै दायित्व हुने बताउनभयो ।कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले विद्यालयलाई राम्रो बनाउनका लागि वडाका तर्फबाट र व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख केदारराज आचार्य, नगरपालिका शिक्षा समिति सदस्य, राजेन्द्रदेब खनाल, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, वडा नम्बर तीनका सदस्य अमृत श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक रामकान्त पाठकले विद्यालयको वार्षिक प्रगति प्रतिबेदन पेश गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक लिलाबल्लब अर्यालले गर्नुभएको थियो ।