७१ औं प्रजातन्त्र दिवशका अवसरमा गल्याङ बजार सरसफाई

प्रकाशित मिति:

गल्याङ । ७१ औं प्रजातन्त्र दिवशका अवसरमा गल्याङबजार सरसफाई गरिएको छ । गल्याङ नगरपालिकाको आयोजनामा प्रजातन्त्र दिबशका अवसरमा बजार सरसफाई गरिएको हो । सरसफाई अभियानको उद्घाटनका अवसरमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बजार एक दिन मात्रै सफा गरेर नहुने भन्दै आफ्नो फोहोर आफै व्यवस्थापनमा लाग्न सके फोहोरको मात्रामा कमी आउने बताउनुभयो ।

उहाँले फोहोर व्यवस्थापनका लागि गल्याङ नगरपालिकाले पनि विशेष योजना बनाइरहेको भन्दै यस कार्यलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बाटोमा हिड्ने क्रममा व्यक्तिले जानेर नजानेर फोहोर गरिरहेको हुन्छ । यसलाई कम गर्न सकेमा पनि फोहोर धेरै कम हुन्छ । उहाँले प्रजातन्त्र दिवशका अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको भन्दै सधैं यसलाई निरन्तरता दिन स्थानीय आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको समापनका अवसरमा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले गल्याङ बजार सरसफाईको क्रममा बजारबासीको राम्रो साथ रहेको बताउनुभयो ।

उहाँले यसरी नै आफ्नो घर अगाडी दैनिक रुपमा सफा गरिएमा फोहोरको मात्रा धेरै कम हुने बताउनुभयो । गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले गल्याङबजारलाई सरसफाईमा विशेष ध्यान दिन बजारवासीलाई आग्रह गर्नुभयो । उहाँले बजार सफा भएमा बाहिरी व्यक्तिलाई पनि फोहोर गर्ने मनसाय नहुने भएकाले आफै बढि जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।