गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सदस्य मिलन तथा वनभोज कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले शनिवार सदस्य मिलन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कोरोना का कारण सबै सदस्य भेट हुन नपाएको भन्दै समाजले विगतका वर्ष जस्तै यस वर्ष पनि वनभोज कार्यक्रम गरेको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए । समाजले आफ्ना सदस्यहरु संगको भेटलाई निरन्तरता दिन र सबैको उपस्थितमा कार्यक्रम गर्न नपाएको लामो समय भएको भन्दै उनले कोरोनाकालमा समाजका तर्फदेखि राहत वितरण, मास्क र सेनिटाईजर लगायतका सामाग्री समेत वितरण गरिएको जानकारी दिए ।

वनभोजको अवसरमा चम्चा दौड, जेरी रेस, सियोमा धागो हाल्ने प्रतियोगिता, घैटो फोड र सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको वनभोज कार्यक्रम संयोजक काजीमान टण्डनले बताए । चम्चा दौडमा जानुका क्षेत्री र शुभु क्षेत्री प्रथम भएका थिए भने बिहान महोत्रा र निर्मला कार्कीले द्धितीय पुरस्कार प्राप्त गरे ।

त्यस्तै, सियो धागो खेलमा चिन्ता बहादुर खड्का र माया खड्काको जोडी प्रथम भएको खेल संयोजक ढबल बहादुर कार्कीले जनाए । त्यस्तै, बलबहादुर कार्की र पशुपत िकार्कीको जोडी द्धितीय भएको थियो । उनले जेरी रेस प्रतियोगितामा क्रिशा रायमाझी प्रथम, बिहान महोत्रा द्धितीय र समिर टण्डन तेस्रो भएको बताए । घैटो फोडमा भने कुनै प्रतियोगिले जित्न सकेनन् । कार्यक्रममा कलाकारहरु नारायण विपी परियार, विक्रमबाबु विश्वकर्मा,लक्ष्मी बस्नेत, सम्झना रणपाल, अनिशा ढकाल लगायतले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार हेमलाल शर्मा, गोबिन्द अर्याल, सावित्रा टण्डन, हिरा अर्याल, लक्ष्मण अर्याल,, धर्मबीर खत्री, टिकाराम पन्थी लगायतको उपस्थिती थियो । यसैगरी समाजका आजीबन सदस्य सहित ३ सय जनाको सहभागिता रहेको कार्यक्रम सफल बनाउन विदेशमा रहेका समाजका सदस्यहरु विमल कार्की (बिजुली) बाट ५ हजार १ सय ५१ रुपैयां, कमल अर्यालबाट ५ हजार ५ सय ५१ र प्रेमबहादुर टण्डनबाट ३ हजार १ सय ३१ रुपैयां सहयोग प्राप्त भएको थियो । समाजका उपाध्यक्ष उषा खत्रीले स्वागत गरेकी थिइन् भने सचिव विकास टण्डनले कार्यक्रम संचालन गरेका थिए ।