निरन्तर संस्थाको हितमा लागिरहनेछु : कसजु

प्रकाशित मिति:

बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूले सोमवार हुने अधिवेशनमा नेतृत्वको दाबी गरिरहेका छन् । बाजेको पालादेखि नै कपडा व्यवसायी रहेका कसजूले २०४२ सालदेखि बुटवल आएर विभिन्न व्यवसाय गर्दै सफल व्यवसायी बनेका छन् । उनले चाउचाउको डिलर लिनेदेखि लिएर आफै उद्योग सञ्चालन गरेर चाउचाउ, बिस्कुटलगायतका सामग्रीहरू उत्पादनसमेत गर्दै आएका छन् । सानो व्यवसायबाट स्थापित उद्योगी कसजूले बुटवल उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि दाबेदारी गरिरहेका छन् । संघमा आबद्ध भएर लामो अनुभव संगालेका कसजूले विभिन्न समितिहरूमा बसेर कार्यसम्पादन गरेका छन् । उनै वरिष्ठ उपाध्यक्ष कसजुसंगको विशेष कुराकानीको सम्पादित अंशः ।

बुटवल उद्योग वाणिज्य संघमा अधिवेशनमा यहांको अध्यषको उम्मेद्धारी बारे केही बताइदिनुहोस् न ?
बुटवल उद्योग वाणिज्य संघको ६७औँ साधारणसभा तथा २४आँै अधिवेशन हुँदैछ, हामी कार्यक्रम सफल बनाउनको लागि लागिपरेका छौँ । संघको वरिष्ठ उपाध्यक्षको हैसियतले म नेतृत्वको लागि दाबी गरिरहेको छु । ०४६ सालबाट संघको साधारण सदस्य हुँदै ०५७ मा वस्तुगत डिलर उपसभापति, २ कार्यकाल डिलर सभापति, ३ कार्यकाल कार्यसमिति सदस्य, १ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल वाणिज्य उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्ष बनेको हुँ । अबको पालो पनि सरासर मेरै नै हो । मेरो नेतृत्वले यस क्षेत्रका उद्योगी व्यवसायीको हकहितको लागि काम गर्दै आइरहेको छ र म अध्यक्ष भइसकेपछि पनि यी कार्यक्रमहरू निरन्तर हुनेछन् ।

तपाईका मुख्य कार्ययोजनाहरू के के छन्  ?
मैले अध्यक्ष बनिसकेपछिका योजनाहरू धेरै नै राखेको छु । मेरो मुख्य योजना भनेको यस क्षेत्रका उद्योगी व्यवसायीका क्षेत्रका समस्या समाधान गर्दै बुटवललाई गुल्जार बनाउनको लागि पहल गर्नेछु । खासगरी उद्योगी व्यवसायीहरूका समस्या समाधानका लागि ३ तहका सरकारहरूसँग जोडबलले प्रस्तुत हुने मेरो योजना रहेको छ । कर, राजस्वलगायतका समस्यालाई समाधान गर्ने मेरो मुख्य योजना रहेको छ । खासगरी बुटवल क्षेत्रको विकास गर्नको लागि पुरानो बुटवललाई स्ट्रिट फुड कोर्टको रूपमा विकास गर्नको लागि पहल गर्नेछौँ । खासगरी रातिको समयमा सबै क्षेत्र बन्द हुने भएकोले खाजा तथा स्ट्रिट फुड खानको लागि पारि बुटवलको क्षेत्रलाई प्रयोग गर्ने योजना रहेको छ । खासगरी बुटवल क्षेत्रमा सडक बिस्तारको कार्यले व्यवसायीलाई निकै समस्यामा पारेको छ । १ वर्षसम्मको लागि पीडित व्यवसायीलाई कर र राजस्वमा छुटको लागि नगरपालिकासँग जोडदार माग गर्ने योजना पनि रहेको छ । खासगरी हामीले सिक्स लेनमा सर्भिसलेन बढाउने कुराको माग गर्दै आएका छौँ, यसलाई पनि नियमित दिँदै पूर्णता बनाएरै छाड्नेछौँ । म अध्यक्ष पदको लागि दाबेदारी दिइरहँदा अमरपथको बजारलाई रात्रीकालीन समयमा पनि सञ्चालनको लागि जोडदार पहल गर्नेछु । साथै पर्यटन व्यवसायलाई पनि ध्यानमा राख्दै कुनै एक क्षेत्रका होटल तथा रेष्टुराँहरूलाई २४ घण्टे सेवा दिनेगरी बनाउनको लागि पहल गर्ने छु । साथै महिला उद्यमीहरूलाई प्रोत्साहनलगायतका कुराहरू पनि मेरो प्राथमिकतामा परेका विषयहरू हुन् । लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सञ्चालन गरेको १ पालिका १ कोसेली घरको लागि आवश्यक समन्वय गरी यथाशीघ्र सञ्चालनको लागि पहल गर्नेछु । बुटवल उपमहानगरसँग मोतीपुर र सेमलारपछि जोडिएको हुनाले त्यसमा कृषिको लागि आवश्यक काम गर्ने योजना रहेको छ । यसै योजनाअन्तर्गत संघको उजेलापुरमा ७ कठ्ठा जमिन रहेको छ । त्यसमा कृषिसम्बन्धी तालिम तथा कृषिसम्बन्धी अन्य कामहरू गर्ने योजना पनि रहेको छ । कोरोनाको समयमा पुनः कर्जाको व्यवस्था पर्यटन व्यवसायीलाई भएको थियो । त्यसको म्याद थप्नको लागि पनि आवश्यक पहल गर्नेछु ।

संघलाई व्यवस्थित बनाउने योजना भन्नुभयो, के के हुन् ?
म नेतृत्वमा आएसँगै मैले हाम्रो संघलाई अझै व्यवस्थित र सहज बनाउने योजना बनाएको छु । सचिवालयलाई पेपरलेस बनाउने योजना पनि रहेको छ, त्यसलाई यथाशीघ्र कार्यान्वयन गर्नेछु । साथै संघ नवीकरणको लागि विद्युतीय माध्यम ९ई सेवा० प्रयोग गर्न सकिने अवस्था छ । यसलाई अन्य माध्यम (विद्युतीय अन्य भुक्तानी माध्यम )बाट पनि प्रदान गर्नको लागि आवश्यक पहल हुनेछ । साथै उद्योगी व्यवसायीको मुख्य समस्या नै राजश्वसम्बन्धी हुने भएकोले यसको लागि छुट्टै डेक्स स्थापना गर्ने योजना पनि रहेको छ । जसको माध्यमबाट उद्योगी व्यवसायीका समस्या समाधान हुनेछ ।

तपाईं विजेता बन्नुभयो भने तपाईंको कार्यसमिति कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मेरो मात्रै सहभागितामा केही पनि हुँदैन । टिम वर्क महत्वपूर्ण कुरा हो । हामी टिम वर्कमा रहेर काम गर्छौँ । हाम्रा क्षमतावान् साथीहरूलाई टिममा राखेर काम गर्नेछौँ । मेरासँगै साथीहरूका योजना तथा अनुभव र क्षमतालाई एकैसाथ जोडेर लैजानेछु । हाम्रो अब बन्ने टिम पनि एकदम राम्रो हुनेछ । म कसैलाई काख कसैलाई पाखाको अवस्था गराउन दिने छैन । संस्थाको गरिमा बढाउँदै यस क्षेत्रका उद्योगी व्यवसायीका समस्या समाधान गर्ने काममा समय व्यतीत गर्न सक्ने सबैको टिम बनाउने छौँ । हामी सकेसम्म सबै मिलेर जाने प्रयास गरिरहेका छौँ ।

अन्य उम्मेद्वारहरूले पनि नेतृत्वकै दाबी गरिरहनु भएको छ नि, के निर्वाचन नै होला त ?
हाम्रो संघ विशुद्ध उद्योगी व्यवसायीकै लागि बनेको संघ हो । हाम्रा नेतृत्वहरू सर्वसम्मत नै हुनेछन् । नेतृत्वको लागि दाबी गर्नु नौलो कुरा होइन । तर नेतृत्वमा दाबी गरिरहनु भएका व्यक्तिहरू सबै मिलेर एउटै टिममा बसेर सहयोग गर्ने वातावरण मिलाउने प्रयास भइरहेको छ । यो पटक मेरो नेतृत्वलाई सहयोग गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । अर्को कार्यकालमा हाम्रा साथीहरूलाई निवर्तमानको हैसियतमा मेरो पूर्ण साथ र सहयोग रहनेछ । हामी सबै मिलेर जाने हो । निर्वाचनको सम्भावना भने म देख्दिन, किनकि सबै साथीहरूले मेरो साथ दिनुहुनेछ भन्नेमा म ढुक्क छु ।

तपाईं सर्वसम्मत बन्ने कुरा गर्दै हुनुहुन्छ, के छन् आधारहरू ?
म एक व्यवसायी । हाम्रो सबै परिवार तथा मेरा बुबाबाजे सबै व्यवसायी हुनुहुन्थ्यो । म विशुद्ध व्यवसाय मात्रै गरेर बसिरहेको छु । मेरो संघका सबैजसो सदस्य तथा पदाधिकारी साथीहरूसँग राम्रो सम्बन्ध रहेको छ । उद्योगी व्यवसायीका समस्या सामाधान गर्नको लागि हरेक समयमा साथ दिएको छु । कोरोना कालमा आएका समस्या समाधानमा पनि मैले धेरै उद्योगी व्यवसायीलाई सहयोग गरेको छु । २१ वर्ष संघको सदस्यसमेत भएको अनुभव मसँग छ । मैले धेरै क्षेत्रबाट अनुभव पनि लिइसकेको छु ।

तपाईं अहिले के केमा आबद्ध हुनुहुन्छ  ?
सबैभन्दा पहिला त म बुटवल उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुँ । साथै नेपाल उद्योग वाणिज्य संघको प्रदेश समिति सदस्य हुँ । यस्तै कृषि उद्यम केन्द्रको विशेष आमन्त्रित सदस्य, बैंक, फाइनान्स तथा बिमा समितिको प्रदेश सभापति, समितिको केन्द्रीय सदस्य, स्थानीय विकास समिति सदस्यमा आमन्त्रित सदस्य रहेको छु । मेरो व्यवसायको क्षेत्रको कुरा गर्दा सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रालिको अध्यक्ष, सिद्धी विनायक फुड प्रोडक्ट प्रालिको अध्यक्ष, ग्रिन टेक ट्रेड एण्ड सप्लायर्स प्रालिको अध्यक्ष, सनब्रिक इन्डस्ट्रिज प्रालिको संस्थापक सञ्चालक, बुटवल ईम्पेक्सको प्रोप्राइटर, यु एण्ड यु ईन्टरनेशनलको म्यानेजिङ डाइरेक्टर, तिनाउ मिसन डेभलपमेन्ट बैंकको संस्थापक, लुम्बिनी सहकारीको संस्थापक तथा नेपाल हृदयरोग निवारण संघको कोषाध्यक्षको रूपमा रहेको छु । मैले विभिन्न संघ तथा संस्थाबाट अनुभव हाँसिल गरेको छु । अहिलेसम्म हाँसिल गरेका अनुभवहरूलाई अबको कार्यकालमा मेरो नेतृत्वको संघले महत्वपूर्ण कामहरू गर्नेछ ।

अन्त्यमा ?
म योपटक नेतृत्वको लागि दाबी गरिरहेको छु । यो कार्यकाललाई सहयोग गरिदिनुहुनको लागि अनुरोध पनि गर्दछु । म उद्योगी व्यवसायीका समस्या समाधान गर्नको लागि हरेक पल तत्पर रहने छु । म बुटवल क्षेत्रको विकासको लागि पनि काम गर्नेछु । मेरा उद्योगी साथीहरूलाई सहयोग गर्न पनि आग्रह गर्दछु ।