गल्याङ नगरपालिकामा स्थानीय आर्थिक विकास सम्बन्धि तालिम सुरु

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा स्थानीय आर्थिक विकास सम्बन्धी तीन दिने तालिम मंगलबार सुरु भएको छ । गल्याङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको सहजिकरणमा तालिम सुरु भएको हो । गल्याङ नगरपालिका ८, करादीमा रहेको मोर्डन कटेजमा भएको तालिमको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कृषि र पर्यटनको माध्यमबाट गल्याङ नगरपालिकाको विकास गर्ने अभियानमा रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रले मात्रै स्थानीय जनताको आय आर्जनमा टेवा पुग्ने भन्दै पशुपालन र कृषिलाई आफुले जोड दिएको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘विकासको लागि सडक र पूर्वाधार भएर मात्रै हुँदैन, स्थानीय जनताको आय आर्जन हुन सकेमा मात्रै विकास सम्भव हुन्छ ।’ दुध किनेर खानुपर्ने अवस्था रहेको नगरपालिकामा अहिले दैनिक दुई हजार लिटर दुध निर्यात हुने अवस्थामा पुगेको भन्दै उहाँले अर्को वर्ष सम्ममा दैनिक दश हजार लिटर दुध उत्पादन गर्ने अभियानमा रहेको बताउनुभयो ।


नगरप्रमुख अधिकारीले युवाहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याइरहेको पनि बताउनुभयो । गल्याङ नगरपालिका भित्रका दश हजार युवाहरुलाई रोजगारी तथा स्वरोजगारी बनाउने अभियानमा आफु लागिरहेको भन्दै उहाँले स्थानीय क्षेत्रको आर्थिक विकासका लागि यसमा नै जोड दिनुपर्ने बताउनुभयो । नगरप्रमुख अधिकारीले जहाज बनाउने जस्ता असम्भव कुराहरु गरेर नहुने भन्दै कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले स्थानीय क्षेत्रको विकासका लागि यस खालका तालिमको महत्व रहेको बताउनुभयो । उहाँले गल्याङको विकासको लागि आवश्यकताको पहिचान गरी कार्यान्वयन गर्ने सन्दर्भमा तालिमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बिहीबार सम्म चल्ने तालिममा गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र व्यवसायिक युवाहरुको सहभागिता रहेको छ ।