दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट एघार सय ७६ परिवार कृषकलाई राहत

प्रकाशित मिति:

दैनिक दश हजार लिटर दुध पु¥याउने र विक्रीको ग्यारेण्टी नगरपालिकाले लिने गल्याङ नगरप्रमुख अधिकारीको भनाई
गल्याङ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आउँदो वर्ष सम्ममा दैनिक दश हजार लिटर दुध उत्पादन गर्ने बताउनुभएको छ ।
उहाँले दुधबाट किसानलाई आत्मनिर्भर र स्वरोजगार बनाउने अभियानमा आफु रहेको भन्दै अर्को वर्षसम्म दैनिक दश हजार लिटर उत्पादन गर्ने बताउनुभयो । गल्याङ नगरपालिका वडा नम्बर ५ हुक्तुममा किसानहरुसँगको छलफलमा उहाँले दुध विक्रीको ग्यारेण्टी नगरपालिकाले लिने पनि बताउनुभयो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘वर्षात्को समयमा बाटोका कारण दुध विक्री गर्न नपाए पनि त्यसको क्षतिपूर्ति नगरपालिकाले दिन्छ ।’उहाँले एउटा गाउँ वा फर्ममा एक सय लिटर दुध भएमा नगरपालिकाले गाउँमा नै पुगेर दुध खरिद गरिदिने बताउनुभयो । नगरप्रमुख अधिकारीले किसानलाई शुन्य प्रतिशत व्याज सहितका योजनाहरु ल्याएकाले त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले बाहिरबाट दुध किनेर खानुपर्ने अवस्था रहेको नगरपालिकामा अहिले दैनिक दुई हजार लिटर भन्दा बढि दुध उत्पादन भई निर्यात भैरहेको बताउनुभयो । किसानलाई आत्मनिर्भर बनाउने अभियानमा आफु रहेको भन्दै उहाँले नगरपालिकामा किसानले झन पछि झन साथ दिइरहेको बताउनुभयो । लकडाउनको समयमा धेरै ठाउँमा दुध नबिकेको र फाल्नुपर्ने अवस्था भएको स्मरण गर्दै गल्याङमा कहिल्यै त्यस्तो अवस्था नभएको र अब पनि नहुने बताउनुभयो ।

व्यवसायिक रुपमा गाइपालन गरेका किसानहरु सफल हुँदै गएको भन्दै उहाँले सोही अनुसार एक गाईको नीति ल्याएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले सके धेरै पाल्न र नसके उन्नत जातको एउटा गाई पाल्न सकेमा आत्मनिर्भर र स्वरोजगार बन्न सकिने बताउनुभयो ।
सो अवसरमा गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट नगरपालिकाका एक हजार एक सय ७६ परिवार कृषकले अहिले प्रत्यक्ष लाभ पाइरहेको जानकारी दिनुभयो । हिउँदको समयमा पनि दुध अझै बढ्ने अवस्थामा रहेको र गल्याङका कृषक अझै बढि उत्साहित भैरहेको उहाँले बताउनुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले वडा नम्बर पाँच हुक्तुममा व्यवसायिक भैंसीपालन गर्नुभएका नेत्रलाल भुषालको गोठको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले पशुपालनमा भैरहेका समस्याबारे जानकारी दिदै अन्य ठाउँको पनि अवलोकन गर्न सुझाब दिनुभएको थियो । कृषक नेत्रलाल भुषालले नगरपालिकाले दिएको साथले आफु उत्साहित भएको बताउनुभयो । अनुगमनका क्रममा गल्याङ नगरपालिका वडा नं. २ का अध्यक्ष इवप्रसाद कर्माचार्यले वडा नम्बर दुईमा व्यवसायिक पशुपालकहरुको संख्या बढिरहेको बताउनुभयो ।