होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको चुनावमा एक्लियो ओली समूह

प्रकाशित मिति:

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नेकपाको ओली समूहविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहसहित अन्य दलहरु समर्थक व्यवसायीहरुको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । संघको यही फागुन १६ र १७ गते १० औं अधिवेशन हुंदैछ । करिब ९ सय व्यवसायी आवद्ध संघको नेतृत्वका लागि ओली समूहले एकलौटीरुपमा उम्मेदवारी घोषणा गरेपछि अन्य दलहरुको समर्थनमा बिहीबार अर्को प्यानल घोषणा भएको हो । नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा लगाएतका राजनीतिक दलहरुसँग मिलेर संघका वरिष्ठ उपाध्यक्ष जीवनप्रसाद श्रेष्ठको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको हो ।

अध्यक्षका प्रत्यासी श्रेष्ठले आफू वरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा स्वतः दावेदारी हुंदाहुंदै ओली समूहले आफूलाई बाइपास गरेर प्यानल घोषणा गरेपछि सबै दलको समर्थनमा आफूले साझा प्यानल घोषणा गरेको बताए । संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यमा लाबहादुर केसी, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा चिरन्जीवी पोख्रेल तथा महासचिवमा प्रेम बञ्जाडेले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी सचिवमा अर्जुन थापा, कोषाध्यक्ष चुत्रबहादुर पौडेल र सहकोषाध्यक्षमा खेमराज पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कार्यकारिणी सदस्यहरुमा प्रदीप जीसी,केशव कंडेल,दिनेश भुसाल,रिना काफ्ले,यम गलामी,कृष्ण पाण्डे,दीपक योगी,लक्ष्मण बस्याल,सुन्दर श्रेष्ठ,होमबहादुर केसी र प्रेम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानललाई संघका पूर्व अध्यक्ष तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ,संघका पुर्व अध्यक्ष मोदनाथ बेल्बासे,पुर्व अध्यक्ष प्रेमलाल पाण्डे,पुर्व उपाध्यक्ष देवीकुमार ।ेष्ठ लगायतले समर्थन गरेका छन् । उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष तथा पदाधिकारीहरुले श्रेष्ठ नेतृत्वको प्यानल राजनीतिक हिसाबले सबै दलको साझा र क्षेत्रगत हिसाबले पनि जिल्लाभरका व्यवसायीको साझा प्यानल भएकाले जित सुनिश्चित हुने बताए ।

ओली समूहको प्यानलले संघलाई बुटवलको इट्टाभट्टी क्षेत्रका व्यवसायीको मात्रै संस्था जस्तो बनाउन खोजेको र संघमा आर्थिक पारदर्शिता कायम गर्न नसकेको संयुक्त प्यानलको आरोप छ । ओली समूहको समर्थन रहेको प्यानलले संघमा गरेको आर्थिक हिनामिनाबारे केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने संयुक्त प्यानलका चुनाव प्रचारप्रसार समिति संयोजक मोदनाथ बेल्बासेले बताए । उम्मेदवारी घोषणा कार्यक्रममा नेकपा दाहाल–नेपाल समुहका रुपन्देही अध्यक्ष राजु गुरुङ, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेय, कांग्रेस नेता काजीमान श्रेष्ठ,जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेल,राष्ट्रिय जनमोचार्का नेता टानबहादुर केसी लगायतका नेताहरुको उपस्थिति थियो । संघका वर्तमान अध्यक्ष समुन्द्र जि.सी.को समर्थन रहेको नेकपा ओली समूहको प्यानलमा रामप्रसाद गौतमको नेतृत्वमा यस अघि नै उम्मेदवारी घोषणा भएको छ । उक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहन पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंक पराजुली तथा सह कोषाध्यक्षमा देबु ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।