स्याङ्जामा आलु महोत्सव

प्रकाशित मिति:

भवानी अधिकारी-  स्याङजा,  वरपर हरिया डाँडा । आँधीखोला नजिकैको उर्वर भूमी । हेर्दा लाग्छ पहाडी जिल्लाको तराईको एक भूभाग । आलुको किनबेच र आलोकै परिकार । उर्वर जमिनमा उत्पादित आलुको बजारीकरण र प्रवद्र्धन गर्ने उदेश्यले भीरकोट नगरपालिका ५ पकान फाँटमा आलु महोत्सवको आयोजना गरेको छ । ‘सुन्दर ठाँउ पकान जाउँ, आलुको परिकार खाँउ’ भन्ने मुल नाराका साथ जिल्लामै पहिलो पटक भीरकोटले आलु महोत्सव गरेको हो ।

दुई दिने महोत्सवमा ५० टन आलुको कारोबार भएको छ भने १५ हजारभन्दा बढीले अवलोकन गरेका छन्। आलुका १८ किसिमका परिकार, परिकार बनाउने सीप तथा आलु बिक्री तथा प्रर्दशनीसहित प्रतियोगितासमेत भएको छ । महोत्सवमा स्थानीय कलासंस्कृतिको पनि प्रर्दशन भएको छ। ग्राहकका रोजाई अनुसारका दाना र फाँटबाटै तत्काल आलु खनेर खरिद गर्न सकिने व्यवस्था मिलाइएको थियो। खरिदकर्ता खेतमै पुगेर आलु किनेका छन्। स्याङजा लगायत कास्की र पाल्पाबाट समेत आलु किन्न आएका थिए। महोत्सवमा आलु प्रति किलो ३५ रुपैंयामा बिक्री भएको छ। फाँटमा आलु खेती विस्तार गरेर किसानलाई व्यवसायसँग जोड्ने उदेश्यले महोत्सव गरिएको नगरप्रमुख छायाँराम खनालले जानकारी दिए। नगरपालिकाले किसानका लागि बिउँ, आलु, विषादी र औषधिमा ५० प्रतिशत अनुदान दिएको छ। यसैगरी कृषि ज्ञान केन्द्रले पनि ५० रोपनी क्षेत्रमा ९० प्रतिशत अनुदानमा आलुको बिउ अनुदानमा उपलब्ध गराएको छ।

विगतका वर्षमा तरकारी खान मात्र आलु लगाउने किसानले यसपटक व्यवसाय गर्नेगरी आलु लगाएका छन् । व्यक्तिगत तथा सामूहिक गरेर ३ सय रोपनीमा आलु लगाइएको छ। प्रति रोपनी १३ देखि १७ क्वीन्टल आलु उत्पादन भएको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र, भीरकोटसहित महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा महोत्सव गरिएको हो।

महोत्सवले किसानलाई हौसला बढाएको र खेतबाटै आलु बिक्री गर्न पाएको किसान मोतीलाल पौडेलको भनाइ छ । यहाँ आलुको उत्पादन राम्रो हुने भएकाले विभिन्न ठाउँलाई १२ पकेट क्षेत्रमा वर्गीकरण गरेर व्यावसायिक उत्पादनमा जोड दिएको छ। किसानले जनकदेव, रातो, सेतो, कार्डिनल, जातका आलु उत्पादन गरेका हुन् । महोत्सवमा आलु किसानलाई सम्मान गरिएको थियो।