सेयर बजारमा करेक्सन

प्रकाशित मिति:

काठमाडौं :  सेयर बजारमा करेक्सन देखिएको छ । बजार नीतिगत परिवर्तन वा केही प्रमुख घटनाका कारण तल झरेको होइन । यो स्वभाविक करेक्सन भएको विश्लेषकहरुले बताएका छन् । बजार निरन्तर बढ्दो क्रममा रहेको छ । यसअघि धेरैले २५ सय विन्दुकै आसपासमा करेक्सन आउने अनुमान लगाएका थिए । तर नेप्सेले त्यसलाई पनि पार गरेर २६०० भन्दा पनि माथि गयो । सूचक माथि जाँदै गर्दा कतिपय अल्पकालीन लगानीकर्ता र ट्रेडरहरुले बेच्ने क्रम अघि बढाए ।

यस्तै, केही संस्थागत लगानीकर्ताले पनि नाफा बुक गरे । जसको सामान्य प्रभावमा नेप्से सूचकमा देखिएको हो । बजार एकोहोरो बढ्ने मात्र गर्दैन । बढेपछि बीचबीचमा सानाठूला करेक्सनहरु पनि आउने गर्छ । यसलाई स्वभाविक मान्नुपर्ने विश्लेषकहरु बताउँछन् । करेक्सनपछि बजार थप बलियो हुने उनीहरुको भनाई छ । बजारमा तरलता टाइट हुन लागेको अनि बैंकहरुले ब्याजदर बढाउने सम्भावना रहेको लगायतका हल्ला चलाइएकाले पनि कतिपय लगानीकर्ता सुरक्षित पोजिसनमा बस्न लाग्दा बिक्रीमा केही दबाब परेको ब्रोकरहरुको भनाई छ । तथापि, यो बुलिस बजार हो । केही करेक्सन भए पनि बजारले आफ्नो यात्रा पूरा नगर्दासम्म वृद्धिक्रम नरोकिने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।

सधैं एकोहोरो बढिरहँदा भन्दा पनि करेक्सन हुँदै अघि बढ्दा नेप्से थप बलियो र गतिशील हुने विश्लेषकहरुको मत रहेको छ । यसअघि सर्वोच्चको फैसला आउनै लाग्दा बजार प्रभावित भएको थियो । तर अहिले राजनीतिको प्रमुख मुद्दा किनारा लागिसकेको छ । यसर्थ, लगानीकर्ता खासै त्रसित हुनुपर्ने अवस्था नरहेको कतिपयको भनाई छ । बजार घटेका बेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । बजार फेरि बढ्छ भन्ने सकारात्मक मनोविज्ञान विकास गराउन पनि उत्तिकै खाँचो पर्छ । लगानीकर्ताले दिनहुँ हुने उतारचढावभन्दा पनि अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सके यसबाट खासै प्रताडित हुनु पनि पर्दैन । साथै, लगानीकर्ताले नेप्से सूचकलाई मात्र आधार बनाउनुृ हुँदैन ।

विशेषगरी आफूले लगानी गरेका कम्पनीहरुमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।

थप समाचार