महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको आफ्नै भवनबाट सेवा आरम्भ, सातवटै प्रदेशमा स्याटेलाईट अस्पताल बनाइने

प्रकाशित मिति:

गान्धीवादी नेता महेन्द्रनारायण निधिको सम्झनामा काठमाडौंको बसुन्धारामा स्थापना गरिएको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको नबनिर्मित भवन बिहिबारदेखि संचालनमा आएको छ। बिहिबार आयोजित कार्यक्रममा महेन्द्रनारायणका सुपुत्र विमलेन्द्रले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। भवन परिसरमै महेन्द्रनारायणको प्रतिमा पनि अनावरण गरिएको छ।

कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका महेन्द्रनारायणका सुपुत्र निधिले अस्पताल समाज र देशका लागि समर्पण गरिएको बताए। निधिले अस्पताललाई सेवा प्रदान गर्ने नीतिका रुपमा अघि बढाउने उल्लेख गर्दै धरौटी जम्मा नगरेसम्म उपचार नगर्ने परम्परालाई ताड्दै अस्पतालले बिरामीको उपचारलाई पहिलो प्राथमिकता दिने बताए। वीपी, गणेशमान र महेन्द्रनारायणका नाममा खुलेका अस्पतालले सहकारीको सिद्धान्त अनुसार एक अर्काका पूरक अस्पतालका रुपमा काम गर्नुपर्नेमा जोड दिए। साथै, तीन नेताका नाममा मेडिकल विश्वविद्यालय स्थापनाका लागि पहल गर्नुपर्ने उनको भनाई थियो। सातवटै प्रदेशमा महेन्द्रनारायणका नाममा स्याटेलाईट अस्पताल निर्माण गर्ने योजना रहेको उपसभापति निधिले सुनाए। नवनिर्मित भवन उद्घाटनका अबसरमा अस्पतालले ७५ बर्षमाथिका बृद्धबृद्धाको एक बर्षसम्म निशुल्क उपचार गर्ने निर्णय गरेको छ।कार्यक्रममा कांग्रेस युवानेता गगन थापाले सस्तोमा गुणस्तरीय सेवा दिनुपर्ने भन्दै अस्पतालका लागि आफ्नो तर्फबाट सधैं साथ र समर्थन रहने प्रतिबद्धता जनाए।

कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगानाले महेन्द्रनारायण निधि आफ्नो राजनीतिका गुरु भएको स्मरण गर्दै सादा जीवन उच्च बिचारका धनी निधिको जीवनशैली सबैका लागि अनुकरणीय भएको बताए।कार्यक्रममा कांग्रेस सांसदद्धय जीपछिरिंग लामा र उमेश श्रेष्ठ, पूर्बमन्त्री दिपकप्रकाश बास्कोटा र शंकर कोइराला, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा। पुरुषोत्तम दाहाल, प्रतिष्ठानका पूर्ब अध्यक्ष भानुभक्त ढकाल, डा।केदार नरसिं केसी, दीनबन्धु पोखरेल लगायतका वक्ताहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा महेन्द्र नारायण निधिको योगदाको चर्चा गरेका थिए। निधिको ९९ औं जन्मजयन्तीका अबसरमा नबनिर्मित अस्पताल भवनबाट सेवा शुभारम्भ गरिएको हो।