राष्ट्रपति रनिङ शिल्डमा कुंवरवर्ती बोर्डिङ प्रथम

प्रकाशित मिति:

बुटवल, १५ फागुन । दोस्रो तिलोत्तमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुंवरवर्ती इङलिस बोर्डिङ स्कूल प्रदीपनगर प्रथम भएको छ । कुंवरवर्तीले ९ स्वर्ण, २ कास्य र ३ रजत पदक सहित प्रथम भएको हो । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजनामा फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा शान्ति नमूना माविले ६ स्वर्ण पदक जित्दै दोस्रो भएको छ भने ५ स्वर्ण पदकसहित सेन्ट जोसेफ बोर्डिङ स्कूल भलबारी तेस्रो भएको छ ।

प्रतियोगितामा नगरभित्रका सरकारी १५ र संस्थागत १७ गरी ३२ विद्यालयका करिब ३ हजार छात्रछात्राले विभिन्न १७ विधामा प्रतिस्पर्धा गरेका नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालले जानकारी दिए । रनिङ शिल्ड अन्तर्गत हुने प्रतियोगितामध्ये एथलेटिक्स तर्फका खेलको रेफ्री संयोजक मोहन घले,भलिबलको किसन चन्द र कबड्डीको दिनेश आचार्यले नेतृत्व गर्ने खनालले बताए । रनिङ शिल्डमा विजयी विद्यालय र खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई जिल्लाभित्र हुने अन्तर पालिकास्तरीय खेल प्रतियोगितामा सहभागी गराइने छ । गत वर्षको रनिङ शिल्ड प्रतियोगितामा नवज्योति बोर्डिङ स्कूल चारनम्बर प्रथम भएको थियो ।