गल्याङको मालुङ्गामा तीन सय ९४ घरधुरीलाई एक घर एक धारा

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ मालुङ्गामा झण्डै चार सय घरधुरीमा खानेपानी पुगेको छ ।
मालुङ्गामा चिडेपानी खानेपानी आयोजना मार्फत वितरण गरिएको तीन सय ९४ घरधुरीलाई एक घर एक धाराको शनिबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले केही महिनामा नै गल्याङको खानेपानी समस्या समाधान हुने बताउनुभयो । उहाँले नगरपालिकाका सबै क्षेत्रमा खानेपानी समस्याको समाधान गर्नका लागि आफुले पहल गरिरहेको भन्दै कार्तिक सम्ममा खानेपानीको समस्या समाधान हुने बताउनुभयो । झण्डै ८० लाख रुपैयाँको बजेटमा झण्डै चार सय घरधुरीमा खानेपानीको विस्तार हुनु राम्रो पक्ष भएको भन्दै उहाँले उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सबै ठाउँमा २४ सै घण्टा पानी आउने अवस्थाको सिर्जना गर्नका लागि आवश्यक सल्लाह दिन उहाँले उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘के गर्दा २४ सै घण्टा पानी आउने अवस्था हुन्छ, तपाईहरुले सुझाब दिनुस्, म त्यही अनुसार आवश्यक बजेटको व्यवस्था मिलाउनेछु ।’खानेपानीको व्यवस्थापन भैसकेपछि करेसाबारीको व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै उहाँले व्यवसायिक र स्वरोजगार बन्नका लागि आफै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
यस वर्ष नगरपालिकाको प्रशासनिक भवन बनाउँदा बजेटमा केही समस्या भएको भन्दै नगरप्रमुख अधिकारीले आगामी वर्ष विकासका अन्य पूर्वाधारमा काम हुने बताउनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर एकका अध्यक्ष गणेशप्रसाद बस्यालले आयोजना सम्पन्न गर्ने क्रममा समितिले सक्रियतापूर्वक काम गरेको बताउनुभयो । उहाँले मालुङ्गामा खानेपानीका अन्य आयोजनाहरुको काम पनि तिब्रताका साथ भैरहेको भन्दै छिट्टै नै खानेपानीको समस्या समाधान हुने बताउनुभयो ।

वडाध्यक्ष बस्यालले सडक निर्माण, अस्पताल निर्माण सहितका विभिन्न कामहरु वडामा भैरहेको भन्दै वडाको विकासमा स्थानीयको राम्रो साथ रहेको बताउनुभयो ।आयोजना उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले नगरपालिका र वडाको राम्रो साथ रहेका कारण आयोजना सम्पन्न गर्न सम्भव भएको बताउनुभयो ।कोषाध्यक्ष अम्बिका बस्यालले सकेसम्म पारदर्शी ढंगले कम लागतमा आयोजना सम्पन्न गरेको बताउनुभयो ।समितिका सदस्य टंकराज बस्यालले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो ।उपभोक्ता डोलमाया बस्यालले घरघरमा धाराको व्यवस्थापन अझै राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर कमिटि अध्यक्ष नारायण अधिकारी, वडा सदस्यहरु टंकप्रसाद पाण्डे, पम्फा तिवारी, पम्फा नेपाली सहित स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।