जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई छ लाख रुपैयाँ अनुदान वितरण

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर २ बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई छ लाख रुपैयाँ भन्दा बढि अनुदान वितरण गरिएको छ । लिटरमा १५ रुपैयाँ अनुदान दिने नगरपालिकाको नीति बमोजिम बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई शनिबार छ लाख छ हजार तीन सय ६९ रुपैयाँ वितरण गरिएको हो ।

गल्याङमा रहेका १८ वटा दुग्ध संकलन केन्द्र मध्ये पछिल्लो चौमासिकमा वितरण गरिएको यो रकम सबैभन्दा धेरै हो ।
यस केन्द्रबाट सबैभन्दा धेरै रनमाया गुरुङले ८५ हजार तीन सय २० रुपैयाँ अनुदान मार्फत पाउनुभएको छ । केन्द्रबाट ५१ ज्ना कृषकले अनुदान पाउँदा निलम सारु थापाले ८४ हजार एक सय ८० रुपैयाँ पाएर दोश्रो धेरै अनुदान पाउने कृषक बन्नुभएको छ ।नेपाल सरकारको दुग्ध विकास संस्थानले तोकेको मुल्यमा किसानले दुध विक्री गरेपछि नगरपालिकाले थप १५ रुपैयाँ अनुदान दिदै आएको छ ।अनुदान वितरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उत्पादनको आधारमा किसानलाई अनुदान वितरण प्रक्रिया अत्यन्तै सफल बन्दै गरेको बताउनुभयो ।उहाँले गल्याङ नगरपालिकालाई सेतो शहरको रुपमा विकास गर्नका लागि यो अभियानले सकारात्म्क भूमिका खेलिरहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले अझै बढि उत्पादन गरी अझै बढि अनुदान लिने अवस्थाको सिर्जना गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो –‘लिटरमा १५ रुपैयाँ अनुदानबाट चौमासिकमा एक जना किसानले एक लाख लिन पाउनुभयो भने मलाई सन्तुष्टी मिल्नेछ ।’किसानले जति धेरै अनुदान पायो, आफु त्यति धेरै सफल हुने भन्दै उहाँले पछिल्लो समय किसानले दिएको साथबाट आफु उत्साहित भएको बताउनुभयो ।नगरप्रमुख अधिकारीले धेरै उत्पादन गर्नेले अझै उत्पादन गर्न र थोरै उत्पादन गरिरहेकाले उत्पादन बढाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशिल अर्यालले पछिल्लो समय गल्याङमा दुध उत्पादनमा कृषकहरु उत्साहजनक ढंगले लागिरहेको भन्दै शाखाको तर्फबाट सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।संस्थाका अध्यक्ष भिम भण्डारीले जनकल्याण दुग्ध संकलन केन्द्रलाई सहकारीमा रुपान्तरण गरिसकिएको भन्दै असारमा साधारणसभा हुने बताउनुभयो ।खानेपानीको योजना बन्दै गरेको भन्दै उहाँले पानीको समस्या समाधान भएमा अझै बढि दुध उत्पादन हुने बताउनुभयो ।कार्यक्रम सञ्चालन गर्नुभएका डिल्लीराम भण्डारीले नगरपालिकाको अनुदानको व्यवस्थाले किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।अनुदान पाउने कृषकहरुले नगरपालिकाबाट वितरण भएको अनुदानले आफुहरु अत्यन्तै खुशी भएको भन्दै थप उत्पादन गर्न प्रेरणा मिलेको बताएका छन् ।