पोखरामा तिलोत्तमा चेम्बरको तीन दिने कार्यशाला गोष्ठी

प्रकाशित मिति:

तिलोत्तमा, १६ फागुन । तिलोत्तमा चेम्बर अफ कमर्शको ३ दिने रणनीतिक कार्यशाला गोष्ठी पोखरामा सम्पन्न भएको छ । आफ्नो रणनीतिक कार्ययोजना बनाउन पुगेको संघको कार्यसमितिको टोलीले फागुन १२, १३ र १४ पर्यटकीय नगरी पोखरामा कार्यशाला गोष्ठी गरेको हो ।संस्थालाई सबै व्यवसायीहरुको साझा र सशक्त संस्थाको रुपमा विकास गर्नेगरी गोष्ठीले दुई वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ । कार्यशाला गोष्ठीमा पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. भरतराम ढुंगानाले व्यापार प्रवद्र्धन र रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए ।

विभिन्न क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्दै आफ्ना गतिविधि र कार्यक्रम अघि बढाउने कार्ययोजना पनि गोष्ठीले पारित गरेको छ ।कार्यक्रममा संस्थाका अध्यक्ष बाबुलाल भुसालले बर्तमान अवस्थामा संस्थालाई व्यावसायिक हक अधिकार संरक्षण गर्ने साझा संस्थाका रुपमा विकास गर्न सबैमा एकताको भावना जागृत हुनु जरुरी रहेको बताए ।
त्यस अवसरमा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराललगायतले संस्थागत विकासको लागि आवश्यक काम, सामाजिक गतिविधि तथा जिम्मेवारीका विषयमा आ आफ्नो धारणा राखेका थिए । त्यसक्रममा संस्थाले आगामी दिनमा सामना गर्नु पर्ने चुनौती, अवसर, बर्तमान अवस्था र संस्थाको सवल पक्षका विषयमा समिक्षा गरिएको थियो ।

कार्यशाला गोष्ठीको संयोजन संस्थाका महासचिव विष्णु बराल, सचिव सुरेन्द्र बर्मा, कोषाध्यक्ष बाबुराम कंडेल र सदस्य विष्णु कालिराजले गरेका थिए । कार्यक्रममा अध्यक्ष भुसालले कार्यशाला गोष्ठीको आयोजना संस्थागत कामको समिक्षा गर्दै भावी योजना बनाउन र मार्ग दिशा कोर्नका लागि भएको कारण गोष्ठीबाट आएका निश्कर्षहरु कार्यान्वयन गर्ने कुरामा सिंगो कार्यसमिति इमान्तारिताका साथ लाग्नु पर्ने बताए ।