शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

प्रकाशित मिति:

तिलोत्तमा, फागुन १७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अटिजम भवनको शिलान्यास गरिएको छ ।
अजिजम भएका बालबालिकाहरुको हेरचाह, अध्ययन र उनीहरुको दैनिक जीवनको सहजताका लागि निर्माण गर्न लागिएको भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा ६ कोठे भवनको निर्माण हुन लागेको हो । दीर्घकालिन रुपमा छात्राबास सहित आवश्यकता अनुसार अभिभावक समेत बस्न मिल्ने गरी थप भवन निर्माण गर्ने योजना समेत रहेको छ ।
विद्यालयको व्यवस्थापन तथा अटिजम केयर सोसाईटी लुम्बिनीको प्राविधिक सहयोगमा कक्षाहरु सञ्चालन गरिने छ ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले कुनै पनि बालबालिका शारीरिक तथा मानसिक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन नपरोस भनेर राज्यले शिक्षामा लगानी बढाएको बताउनुभयो । अटिजम भएका बालबालिकालाई विशिष्ट क्षमता भएका व्यक्तिका रुपमा विकसित गर्नका लागि सबैको उत्तरदायित्व भएको भन्दै उहाँले अटिजमका बारेमा थप अनुसन्धान गरेर नयाँ योजना ल्याउन सम्बन्धित क्षेत्रका विज्ञहरुसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विविध क्षेत्रमा अब्बल भूमिका खेल्दै आएको शान्ति नमुनाले सामान्य तथा प्राविधिक शिक्षा र भिन्न क्षमता भएका बालबालिकाको विकासका लागि गरेको योगदान प्रंशनीय रहेको भन्दै नगरपालिकाको तर्फबाट समेत अटिजम कक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. सतिश रुपाखेतीले अटिजम कुनै रोग नभई व्यक्ति कुनै एक ठाँउ वा काममा केन्द्रित हुने अवस्था भएकोले अटिजम भएका व्यक्तिलाई विशिष्ट क्षमता भएका व्यक्तिका रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्राधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयलाई सबै खाले विद्यार्थीको साझा फुलबारी बनाउदै सबैको अपनत्व महसुस हुने गरी काम भैरहेको भन्दै सबैका लागि शिक्षा भन्ने नारालाई सार्थकता दिन अटिजम, श्रवण दृष्टी विहिन लगायतका फरक क्षमता भएका बालबालिकाको लागि कक्षा सञ्चालन भएको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गर्नुभएको थियो ।
सोही अवसरमा मन्त्री बरालले विद्यालयद्वारा सञ्चालित प्राविधिक कक्षाहरुको समेत अवलोकन र जानकारी लिनुभएको शिक्षक दिनेश खड्काले जानकारी दिनुभयो ।