बुटवलमा कोभिडविरुद्धको खोपलाई प्रभावकारी बनाइँदै

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकाले समुदाय स्तरमा फागुन २३ गतेदेखि कोभिड विरुद्धको खोप सञ्चालन गर्दैछ । त्यसअघि उपमहानगरका सबै १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण सुरु हुँदैछ । कोभिड–१९ को महामारी नियन्त्रणमा पालिकाहरुमध्येमा मुलुकमै नमुना काम गरेको बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा अर्को व्यवस्थित कामको थालनी गरेको छ ।
जोखिमयुक्त खोप अघि समूहमा गरिने एन्टिजेन परीक्षण र फागुन २३ देखि समुदायमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिंदै उपमहानगरका प्रमुख शिवराज सुवेदीले सहज एवम् विश्वसनीय सेवाप्रदान गर्न आग्रह गर्नुभयो ।
उहाँले जनस्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै सोही अनुरुप प्रस्तुत हुन खोप अघि तथा पछिको अवस्थाको आँकलन गरेर तयारी पूरा गर्न निर्देशन दिनुभयो । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा बुटवलमा जनप्रतिनिधिसंगै स्वास्थ्यकर्मी र नागरिक स्तरबाट भएको समन्वय एवम् सहकार्यको प्रसंशा गर्दै उहाँले अब पनि यस्तै सहकार्यको खाँचो रहेको बताउनुभयो ।उपमहानगरका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा खोप कार्यक्रम सञ्चालन हुने छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पतालहरुसमेत गरि १० स्थानमा उपमहानगरको खोप केन्द्र रहने छ ।वडा र टोलमा नागरिकको अवस्था र पायकलाई मिलाउँदै सबैको पहुँच सुनिश्चित गर्न निर्देशन दिइएको छ । खोप कार्यक्रमका लागि उपमहानगरका करिब ७० जना तालिमप्राप्त स्वास्थ्यकर्मीहरु खटिने छन् भने उनीहरुलाई सघाउन वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडा खोप समन्वय समिति समेत गठन गरिएको उपमहानगरका अनुमगन समितिका संयोजक समेत रहनुभएकी उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

खोप कार्यक्रम र जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षणका लागि खटिने स्वास्थ्यकर्मीलाई अभिमूखिकरण गराउन उपमहानगरमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनाल, सामाजिक विकास समिति प्रमुख र विभिन्न वडाका अध्यक्षहरुले स्वास्थ्यकर्मीलाई मनोबल उचो बनाएर सेवामा खटिन आग्रह गर्नुभयो ।
यस्तै उपमहानगरका जनस्वास्थ्य अधिकृत उमा थापा, मेडिकल अफिसर डाक्टर राजिव केसी, खोप कार्यक्रम प्रमुख कल्पना भट्टराई, जनस्वास्थ्य परीक्षक गीता पाण्डे तथा स्टोर प्रमुख खेमबहादुर पौडेललगायतले खोप लगाउने तरिका, असर र त्यसको निराकरण गर्ने उपायलगायतका बारेमा विषयगत जानकारी गराउनुभएको थियो । उपमहानगरले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गर्दै आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको हो । संघीय सरकारको स्वास्थ्य मन्त्रालय अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ । बुटवल उपमहानगरमा यो उमेर समूहका करिब २० हजार नागरिक रहेको अनुमान छ ।
  २१ गतेसम्म जोखिम समूहमा परीक्षण
कोभिडविरुद्दको खोप कार्यक्रमलाई समुदायमा लैजानु अघि बुटवल उपमहानगरमा आजदेखि जोखिमयुक्त समूहमा कोभिड एन्टिजन परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । खोपलाई प्रभावकारी बनाउन समूदायमा कोभिडको अवस्थाका बारेमा जानकारी लिनका लागि यो कार्यक्रम उपयोगी मानिन्छ । उपमहानगरका १९ वटै वडामा जोखममा रहेका समूहको पहिचान गर्दै उनीहरुको अवस्थाका बारेमा अभिलेख र परीक्षण गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत उमा थापाले जानकारी दिनुभयो । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह ९सुगर०, शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ । कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।

खोप कसले लगाउनु हुँदैन 
अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाहरुले लिनुहुँदैन । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनुहुँदैन । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश नगरिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

खोप लगाएपछि के के असरहरू देखिन सक्छन् 
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विभिन्न चरणको परीक्षण सफल भएपछि मात्र यो खोप मानिसमा प्रयोग गर्न अनुमोदन गरिएको हो ।विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन÷थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ । नेपालमा माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।