सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपिठ बन्दै

प्रकाशित मिति:

टिका खरेल, फागुन १७, सैनामैना- सैनामैनालाई पर्यटकीय एवं धार्मिक क्षेत्रका रुपमा विकास गर्नका लागि सैनामैना–३ मुर्गियामा रहेको दुर्गा मन्दिरमा नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपिठ मन्दिरको निर्माण गरिने भएको छ ।
नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी २३ करोड पचास लाखको लागतमा सो परियोजनाको डिपिआर प्रस्तुत गरेको छ । सैनामैना नगरपालिका वडा नं. ३ मुर्गियामा रहेको नव दुर्गा मन्दिरलाई बृहत रुपमा धार्मिक पार्कको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

देशको दोस्रो पशुपतिनाथको नामले चिनिले सैनामैनालाई थप धार्मिक एवं पर्यटकीय गतव्यको स्थलको रुपमा विकास गर्नका यस शैलपुत्री शक्तिपिठले महत्वपूर्ण भूमिका खेल्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । उहाँले यस योजनालाई सम्पन्न गर्न स्रोत व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग समवन्य गरि अगाडि बढ्ने बताउनुभयो । सैनामैना नगर क्षेत्र भित्रका सार्वजनिक क्षेत्रहरुको समुचित उपयोगबाट समृद्धिका बाटाहरु खोल्दै जाने जिकिर गर्दै केन्द्रीय य सरकार सँग सहकार्य गरी आउँदो बजेटमा यस योजनालाई पनि समेटिने नगर प्रमुख कार्किले बताउनुभयो ।

यस शक्तिपिठलाई बोलबम धाम, लामिरह, लुम्बिनी लगायतका क्षेत्रहरुसँग जोडेर बृहतरुपमा विकास गर्न सके यस क्षेत्रको कायापलट हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।निर्माणाधिन शक्तिपिठको व्यवस्थित डिपिआर तयार गरिएको र धार्मिक पर्यटनको लागि आवश्यक सबै पूर्वाधारहरु समेटिएको सैनामैना नगरपालिकाका योजना प्रमुख ई. सुरज न्यौपानेले बताउनुभयो ।दुर्गा माताको ९ वटा रुप मध्येको पहिलो स्वरुप शैलपुत्री नाम रहेको र उनको नामबाट नेपालमा यस प्रकारका शक्तिपिठ नभएको हँुदा सैनामैनामा बन्ने यस शक्तिपिठ नेपालकै पहिलो हुने आचार्य पण्डित बिष्णु प्रसाद ज्ञवालिको दावी छ ।यहाँ रहेको भौतिक संरचनाहरुलाई व्यवस्थित तवरले समेट्दै नमुना शक्तिपिठ बनाइने दुर्गा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाँले बताउनुभयो ।

सो योजना सम्पन्न गर्न साँढे २३ करोड लाग्ने आर्किटेक कोमल बहादुर पुनले बताएका छन । वास्तु सिद्धान्तलाई अंगिकार गरी डिपिआर निर्माण गरिएको पुनको भनाई छ । यसले मुर्गिया सैनामैनालाइ मात्र नभइ नेपाललाई अन्तराष्टिय जगतमा चिनाउने छ । बजेटको पूर्णप्रवन्ध भए करिब तीन बर्ष भित्र आयोजना सम्पन्न हुने छ ।
जम्मा दुई बिगाह क्षेत्रफलमा यस शक्तिपिठ फैलने छ भने मुख्य मन्दिर ८ सय ६५ स्क्वार मिटरमा रहने छ । डिपिआर तयार भए संगै यस क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, मन्दिर ब्यवस्थापन समिति र सरोकार सबैको उपस्थितिमा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

को हुन् शैलपुत्री ? शैलपुत्री नवदुर्गा मध्य प्रथम देवी हुन् । देवी दुर्गाको ९ वटा रुप मध्येको पहिलो स्वरुप शैलपुत्रीको नामले चिनिन्छिन् । पर्वतराज हिमालयको घर पुत्री रुपमा उत्पन्न भएकै कारण यीनको नाम शैलपुत्री राखियो । नवरात्रि पूजनमा प्रथम दिन यिनकै पुजा र उपसना गरि नवरात्रिको शुभारम्भ गरिन्छ । यस प्रथम दिनको उपसनामा जोगी आफ्नो मनलाई मूलाधार चक्रमा स्थित गर्छन् । यहिँ देखि यीनको योग साधनाको सुरुवात हुन्छ ।