शेयर बजारमा ६० अंकको गिरावट

प्रकाशित मिति:

शेयर बजार सूचक मापक नेप्से मंगलबार पुनः ६० अंकले घटेको छ । बिहीबार ४४ र आइतबार ८० अंकको गिरावटपछि सोमबार ४० अंक बढीको सुधार देखिएको बजारले मंगलबार पुनः ओरालो बाटो समातेको हो । मंगलबार नेप्सेमा उच्च अंकको गिरावट आएपनि सोमबारको तुलनामा कारोबार रकम भने ४२ करोडले बढेको छ । यसदिन २०८ कम्पनीको १ करोड ३१ लख ६ हजार ७३८ कित्ता शेयर ६४ हजार ७८७ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से सूचक ५९।७० अंकले घटेर २ हजार ४५५ दशमलव ३३ बिन्दुमा झरेको छ भने ठूला कम्पनीहरु सूचीकृत सेन्सेटिभ इन्डेक्स पनि ९।८० अंकले घटेर ४४३ अंकमा रोकिएको छ । शेयर बजारमा उच्च गिरावट आएसँगै मंगलबार मात्रै शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक बजार पूँजीकरण ८२ अर्ब ३७ करोड रुपैयाँले घटेको छ । सोमबार ३४ खर्ब ६४ अर्ब ३५ करोड रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा मंगलबार ३३ खर्ब ८२ अर्ब ८७ करोडमा खुम्चिएको हो ।

साल्ट ट्रेडिङ्ग र चन्दा्गिरी हिल्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा यी कम्पनी सूचीकृत ब्यापार र होटल तथा पर्यटनमुलक सूचक मंगलबार रहेका छन् । बाँकी ११ उपसमहुको सूचक ऋणात्मक बनेका छन् । आजको बजारमा जीवन बीमा, उत्पादनमुलक, निर्जीवन बीमा, लघुवित्त, बैंकिङ्ग, विकास बैंक र हाइड्रोपावरको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

यसदिन एशियन लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २८ करोड २७ लाख रुपैयाँको शेयर खरीद बिक्री हुँदा निफ्रा, नेपाल बैंक, शिखर इन्स्योरेन्स कुमारी बैंक, र नेपाल लाइफको पनि २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।