साताको चौथो दिनको शेयर बजार पनि राताम्मे

प्रकाशित मिति:

यस साताको चौथो दिनको शेयर बजार पनि राताम्मे भएको छ । झण्डै ४० अंकले घटेको बजारमा सस्ता मूल्यका शेयर उठानेहरु सक्रिय हुँदा कारोबार रकममा भने सुधार आएको छ । मंगलबार र बुधबार गरेर शेयर बजार एक सय अंकले घटेको छ । बजार घटेपनि सस्तो मूल्यमा शेयर उठाउनेहरुको सक्रियता कायमै रहँदा कारोबार रकमले साथ दिएको छ । बुधबारको बजारमा व्यापार र होटल तथा पर्यटन बाहेकका सबै समूहका सूचकहरु राताम्मे भएका छन् ।

साल्ट्र ट्रेड्रिङको मूल्यमा सकारात्मक सर्किट लाग्दा व्यापार समुह ९।२६ प्रतिशतले बढेको छ । चन्द्रागिरीको मूल्य दश प्रतिशतले बढ्दा होटल तथा पर्यटन समुह सकारात्मक रह्यो । अन्य समुहका सूचक भने ओरालो लागेका छन् ।

बुधबार समग्र नेप्से सूचक ३९।२३ अंकले घटेर २४१६ अंकमा झरेको छ । यसदिन २१२ कम्पनीको १ करोड १३ लख ९२ हजार कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको भन्दा १४ करोड बढी हो । मंगलबार ६ अर्ब ११ करोड ९६ लाख बराबरको शेयर किनबेच भएको थियो ।