शाइन रेसुंगा बैंकद्वारा डिजिटल बैंकिङ साक्षरता

प्रकाशित मिति:

बुटवल,१९ फागुन । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता अन्तर्गत सैनामैना नगरपालिकाको सालझण्डीमा डिजिटल बैकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सरोकारवाला पक्षलाई एकै थलोमा राखेर डिजिटल बैंकिङ कारोबार कसरी गर्ने भन्ने व्यवहारिक ज्ञान दिएको हो । कार्यक्रममा डेबिट कार्ड र क्यूआर कोडको प्रयोग कसरी गर्ने,आईपीएस भुक्तानी,मोबाइल बैकिङ आदिबारे सहभागीलाई सिकाइएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदीप फुयालले डिजिटल बैंकिङको फाइदाबारे चर्चा गर्दै यो अहिलेको समयको माग र आवश्यकता दुबै भएको बताए । निर्देशक फुयालले डिजिटल बैंकिङ कारोबार गर्दा नगद साथमा बोकेर हिंड्न नपर्ने, रकम पठाउन र प्राप्त गर्न बैंकमै धाउन नपर्ने हुंदा यो सजिलो र सुरक्षित हुने जानकारी गराए । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आफ्ना ग्राहकलाई समयसापेक्ष आधुनिक बैकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले डिजिटल बैंकिङ साक्षरतालाई प्राथमिकता दिएको बताए । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको लुम्बिनी प्रदेशको एक मात्र विकास बैंक भएकाले पनि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता र डिजिटल बैंकिङ साक्षरता अभियानलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारे । बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले सञ्चालन गरेको कार्यक्रममा सालझण्डी क्षेत्रका विद्यालय र कलेजका शिक्षक,व्यवसायी, संघसंस्थाका पदाधिकारी,निक्षेपकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।