बुटवलमा ट्राफिक समस्या बढ्दै, समाधानका उपायबारे अन्तरक्रिया

प्रकाशित मिति:

नेपाल रेडक्रस सोसायटी बुटवल उपशाखाको १५ औं बार्षिक उत्सवको अवसरमा बुटवलमा बढ्दो ट्राफिक समस्या र समाधानका उपायहरुका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका सहभागिहरुले बुटवल र आपासका क्षेत्रमा सवारी चाप बढेको र बिभिन्न समस्याहरु उत्पन्न भएकोले सरोकारवाला पक्षले समाधानका उपायहरु तत्काल खोज्नु पर्ने आवश्यक्ता औंल्याएका छन्।  कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले यातायात ब्यबस्थापन र सवारी दुर्घटना न्यूनिकरणका लागि आवश्यक कार्यहरु गर्न प्रदेश सरकार तयार रहेको बताए। सरोकारवाला निकाय र बिभिन्न पक्षहरुसँग छलफल गरेर यो प्रदेशमा सवारी दुर्घटना न्यूनिकरण र यातायात ब्यबस्थापनका लागि आवश्यक निति र योजना बनाएरै अघि बढ्ने प्रदेश सरकारको लक्ष रहेको भन्दै मन्त्री चौधरीले यस सम्बन्धी ऐन बनाई सकिएको र सडक गुरुयोजना निर्माणको काम भैरहेको जानकारी गराएका थिए।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, बुटवल नगरपालीका पुर्व उपप्रमुख बिमलबहादुर शाक्य, वडा अध्यक्ष टंक पराजुली, शैक्षिक ब्यक्तित्व लोकनाथ उपाध्याय, बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुली, ब्यापार संघका दया भण्डारी, बारका जोगबहादुर खत्रीलगाएतले यातायात क्षेत्रका समस्या र समाधानका लागि सरोकारवाला पक्ष र निकायले खेल्नुपर्ने भुमिकाका बारेमा चर्चा गरेका थिए। नेपाल रेडक्रस सोसायटी बुटवल उपशाखाका अध्यक्ष बेनबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले बुटवलमा बढ्दो ट्राफिक समस्या र समाधानका उपाय बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए।