नेप्से ९०: ६७ अंकले बढ्दै २५०० माथि उक्लियो

प्रकाशित मिति:

काठमाडौं : सेयर बजार बिहीबार फराकिलो अंकले वृद्धि भएको छ । केही दिनयता निराश बनेका लगानीकर्तालाई बिहीबारको बजार उत्साह थपिदिएको छ । आकर्षक हिसाबले बजार वृद्धि हुनुमा प्रमुख रुपमा २ वटा कारण देखिएका छन् । पहिलो सरकार र हिंसात्मक आन्दोलनमा उत्रिएको विप्लप समूहबीच सहमति हुनु । अर्को, पछिल्ला दिन निरन्तर बजार घट्दा सेयर भाउ निकै सस्तो हुनु नै रहेका छन् । लामो समयदेखि हिंसाको राजनीतिमा उत्रिएको नेकपा विप्लप समूहले अब हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेको छ । यसले समग्र मुलुककै लागि सकारात्मक सन्देश दिएको छ । सोही कारण सेयर बजारमा यसको निकै राम्रो प्रभाव परेको हो । यसैगरी, निरन्तर घटेको बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ ।

छोटो समयमै उच्च अंकले बजार घट्दा कतिपय कम्पनीको भाउ २–३ सय रुपैयाँसम्म सस्तो भइसकेको छ । जसका कारण लगानीकर्ताहरु ती कम्पनीको सेयर खरिद गर्न उत्साहित भएका हुन् । उपयुक्त कारणबिनै हल्लाकै भरमा बजार निकै तल झरेकाले पनि सोही अनुसार तीब्र हिसाबले सुधार देखिएको हो । यस्तो बेला विशेषगरी कारोबारीहरु प्रवेश गर्ने गर्छन् ।
करेक्सनपछि बजार थप बलियो हुँदै जाने अनुमान गरिएको छ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि स्थान राख्ने गर्दछ । यसर्थ, बजार वृद्धि हुनेमा लगानीकर्ता ढुक्क हुन आवश्यक छ । सेयर बजारका नीतिनियमहरु सुधार हुँदै गएका छन् । ब्याजदर सस्तो छ । सेयर कर्जा सजिलै पाइन्छ । बजार अहिले बुलिस प्रवृत्तिमा छ । यस्तो बेलामा केही करेक्सन हुँदैमा लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकहरुले बताउँदै आएका थिए ।

लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर लगानी गर्नुपर्छ । एकदुई दिनको उतारचढावमा आत्तिनु हुँदैन । सकेसम्म अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्नुपर्छ । नेप्से सूचक ९०।६७ अंकले बढेर २५०६।६८ विन्दुमा आइपुगेको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०६ कम्पनीको १ करोड ६६ लाख २२ हजारभन्दा बढी कित्ता कारोबार भएको छ । सूचीकृत सबै समूहमा हरियाली छाएको छ । १० कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथिबाट सर्किट लाग्ने तहसम्ममा वृद्धि भएका छन् । खरिदबिक्री रकममा नेपाल इन्फ्रास्टक्चर बैंक ५३ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रोमा क्रमशः शिखर इन्सुरेन्स र नबिल बैंक परेका छन् ।