प्रविधिको प्रयोगबाटै छिटो र सहज सेवा दिन्छौं : नगर प्रमुख खाँण

प्रकाशित मिति:

तोलाकान्त बगाले- वालिङ, २० फागुन । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सूचना प्रविधिको उच्चतम प्रयोग गरी नागरिकलाई छिटो छरितो र सहज सेवा दिने बताउनुभएको छ । नगरपालिकाका कर्मचारीहरुकालागि आईसिटी सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख खाँणले सूचना प्रविधिका क्षेत्रमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्दै नगरवासीलाई सेवा दिने गरी काम अगाडि बढाईएको बताउनुभएको हो ।

“स्मार्ट सिटीको अवधारणामा वालिङ अगाडि बढीसकेको छ, उक्त लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकहरु एकजुट हुनुको विकल्प छैन” नगर प्रमुख खाँणले भन्नुभयो, “लक्ष्य प्राप्तिका लागि हामीले प्रदान गर्ने सेवाहरु पनि प्रविधिमैत्री हुनु आवश्यक छ । नगरपालिकाले निर्माण गरेका एप्लिकेशनहरुको प्रयोग गर्ने तरिकाकाबारेमा अब नगरभित्रका माध्यमिक तहका विद्यालयहरुका विद्यार्थीहरुलाई सिकाउनुकासाथै वडा÷वडामा स्मार्ट क्लबहरु खोल्ने र आवश्यक तालीम दिएर घर÷घरमा प्रयोग गर्ने तरिकाकाबारेमा सिकाईने तयारी भईरहेको नगर प्रमुख खाँणले बताउनुभयो ।गाउँ गाउँमा एप्लिकेशन चलाउन जानेकाहरुले नजानेकाहरुलाई सिकाउँदै जानुहुन्छ” प्रमुख खाँणले भन्नुभयो, “७० प्रतिशतभन्दा धेरै नागरिकहरुले घरमै बसेर सेवा लिन सक्ने अवस्था पुगेपछि विस्तारै कागजी प्रक्रियाहरु बन्द गरी अनलाईन सर्भिसलाई जोड दिंदै जाने छौं ।”

असंभव कुरा केही छैन तर असंभवलाई संभव बनाउनका लागि प्रबल ईच्छा शक्ति भने आवश्यक हुने नगर प्रमुख खाँणको भनाई थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नगरको विकाससँगसँगै सेवाग्राहीलाई छिटो छरितो र सहज ढंगले सेवा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।जनप्रतिनिधिले विभिन्न योजनाहरु बनाउने र त्यसको कार्यान्वयनको पक्ष कर्मचारीको भएको हुँदा कर्मचारीहरु जिम्मेवारीपूर्वक कार्य सम्पादन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।दुईदिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा विशेष गरी ई–हाजिरी र अनलाईनबाट कर भुक्तानी गर्ने लगायतका विषयमा प्रयोगात्मक कक्षा सञ्चालन हुने सूचना तथा प्रविधि शाखाका प्रमुख प्रकाश अर्यालले बताउनुभयो ।नगरपालिकाभित्रका विभिन्न शाखाका प्रमुखसहित कर्मचारीहरु, वडा सचिव, कम्यूटर अपरेटरहरुको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा सूचना तथा प्रविधि शाखाका प्रमुख प्रकाश अर्याल तथा कम्प्यूटर अपरेटर माधव न्यौपानेले सहजीकरण गर्नुहुने छ ।